थप १९ लाख ६५ हजार मात्रा मोर्डना खोप नेपाल आईपुग्यो


काठमाण्डाै । कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार ६ सय मात्रा काेराेना भाइरसविरुद्धकाे मोडर्ना खोप आज आइतवार नेपाल भित्रिएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरसियाले १९ लाख ६५ हजार ६ सय मात्रा मोर्डनाको खोप नेपाल आज भित्रिएको जानकारी दिनुभयो । योसहित नेपालमा गएकाे बुधवार र बिहीवार गरी ३६ लाख ५१ हजार ६ सय मात्रा मोडर्ना खोप आइसकेको छ । मोडर्नाको खोप आउँदाे पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका झन्डै १८ लाख बालबालिकालाई लगाइने उहाँले बताउनुभयो ।

सरकारले बालबालिकालाई विद्यालयबाटै खोप लगाउने जनाएको छ । पहिलो मात्रा फाइजर खोप लगाएकाबाहेक ५७ जिल्लाका बालबालिकालाई विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

हिमाली जिल्लाका लागि एक सयभन्दा बढी विद्यार्थी भएका विद्यालय र अन्य बाँकी जिल्लामा दुई सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोक्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया