![]()
मुगु । गमगाढ साना जलविद्युत् आयोजनाको पावर हाउसको मेसिन बिग्रिँदा एक सातादेखि गमगढीमा अन्धकार छ । विद्युत् आपूर्ति ठप्प हुँदा गत सोमबारदेखि सदरमुकाम र आसपासका गाउँहरू अन्धकार बनेका हुन् । कहिले नहरबाट पानी चुहिने त कहिले उपकरणमा समस्या आउने भएपछि स्थानीयबासी लामो समयदेखि विद्युत् आपूर्ति नियमित नहुने समस्या भोगिरहेका छन् ।
वर्षायाममा बाढीले मुहान बगाउने समस्या वर्षैपिच्छे हुने गरेको स्थानीयको गुनासो छ । बजार अन्धकार भएपछि टर्चलाइट बालेर आउजाउ गर्नुपर्ने बाध्यता भएको स्थानीय कमला शाहीले बताइन् ।
नियमित विद्युत् आपूर्ति नहुँदा महिनैजसो सास्ती पाउन थालेको नितेष होटलका प्रोपराइटर दिनेश श्रेष्ठले गुनासो गरे । २०६८ असोजबाट गमगाढ साना जलविद्युत् आयोजनाले विद्युत् सेवा दिन थालेको हो । ‘तर महिनैपिच्छे के–के बिग्रियो भन्छन्, बत्ती जान्छ,’ उनले भने, ‘हामीले कसरी व्यापार व्यवसाय चलाउने ?’ विद्युत् सेवा छँदै छ भनेर वैकल्पिक व्यवस्था पनि गर्न नसकिएको उनले सुनाए ।
भरपर्दो विद्युत् सेवा नहुँदा उद्योग–व्यवसाय धरापमा परेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए ।
पावर हाउसको मेसिन बिग्रिएपछि मर्मतका लागि नेपालगन्जबाट इन्जिनियर बोलाइएको गमगाढ जलविद्युत् आयोजनाका प्रमुख दिनेश पौडेलले बताए । उनका अनुसार पावर हाउसभित्र रहेका २ वटा मेसिनमध्ये एउटा मेसिन २ वर्षअघि नै बिग्रिएको थियो । मेसिन मर्मतका लागि ८० लाख रुपैयाँको ठेक्का गरिए पनि ठेकेदार कम्पनीले बेवास्ता गरिरहेको उनले बताए ।
अनियमित विद्युत् आपूर्तिका कारण गमगढीमा सञ्चालित ३ वटा एफएमको प्रसारण सेवासमेत प्रभावित भइरहेको छ । बजारक्षेत्रका मासु, डेरी, पाउरोटी उद्योग, चाउमिन फ्याक्ट्री, ह्याचरी उद्योगलगायत व्यावसायिक फार्महरू पनि संकटमा परेका छन् । सरकारी तथा गैरसरकारी संस्थाका काम पनि विद्युत् समस्याकै कारण प्रभावित हुन थालेको छ ।
गमगढीमा विद्युत् अवरुद्ध भएको मौका छोपी केही व्यापारीले एकप्रति फोटोकपीको २० रुपैयाँ, मोबाइल चार्ज गरेको ५० र ल्यापटप चार्ज गरेको १ सय रुपैयाँ लिने गरेका छन् । अनियमित विद्युत्कै कारण जिल्ला अस्पतालका बिरामीसमेत मर्कामा परेका छन् । अस्पतालको एक्सेर, भिडियो एक्सरे, प्रयोगशाला परीक्षणलगायत सेवा पनि अवरुद्ध भएको छ । करिब ४ सय किलोवाट क्षमताको आयोजनाले गमगढीका २ हजार ३ सय घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ । राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदा मुगु, हुम्ला र डोल्पाका बासिन्दा अझै अँध्यारोमै रात गुजार्न बाध्य छन् ।


दर्शन खबर । २२ मंसिर २०७८, बुधबार