उद्यमशीलताका लागि ऐन, नियम संशोधन गर्न सरकार तयार छ : मुख्मन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वाणिज्य र उद्योगको विकासका लागि एक दिन दिवस मनाएर मात्र नपुग्ने बताउनु भएको छ । ७ औं उद्योग दिवसको अवसरमा विहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको एक सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले उद्योगको विकास विना कुनै पनि देश अघि बढ्न नसक्ने भएकाले समृद्धिका लागि उद्योगीहरुलाई अगाडि बढ्न आग्रह गरे । उनले उद्यमशीलताको विकासका लागि प्रदेश सरकार ऐन, नियम र कानूनमा समेत संशोधन गर्न तयार रहेको जनाए । आयातित वस्तुलाई निरुत्साहित गर्दै कर्णालीको आन्तरिक उत्पादनलाई बढवा दिन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

‘स्वदेशी उद्यम र उत्पादः दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ कर्णाली प्रदेश उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा मनाईएको ७ औं उद्योग दिवसमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले कर्णालीका उत्पादनमुखी उद्योगलाई प्रवद्र्धन प्रदेश सरकारले ४० लाख रुपैयाँ व्याजमा अनुदान दिने कार्यक्रम ल्याएकोले लाभ दिन उद्योगीलाई आग्रह गरे । उनले प्रदेशका दश वटै जिल्लामा एक उत्पादन एक वस्तुलाई प्रवद्र्धन गर्न प्रदेश सरकारले अनुदान सहयोग कार्यक्रम समेत ल्याएको बताए ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, उद्योग, उपभोक्ता निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीलगायत स्वदेशी उद्योगको प्रवद्र्धन, बजारीकरण लगायतमा सरकार र नीजि क्षेत्रको समान सहभागिता आवश्यक रहेको औल्याए । दिवसको अवसर पारेर सुर्खेतमा उत्पादित विभिन्न १७ वटा वस्तुहरुको प्रर्दशनसँगै दुई जना उद्यमीलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया