यार्सागुम्बाको चोरी निकासी रोक्न सुरक्षाकर्मी र स्थानीय युवाहरुको सामूहिक गस्ती


डोल्पा ।
बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाहरुको सामूहिक गस्ती सुरु गरिएको छ ।
यार्सा सङ्कलनको समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाहरुको सामूहिक गस्ती सुरु गरिएको हो ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यार्सा पाटनमा गस्तीका लागि नेपाली सेना खटाइएको निकुञ्जले जानकारी दिएको छ । यार्सागुम्बाको पाटनमा हुने अवैध तस्करी रोक्नका लागि जिल्लाका विभिन्न यार्सागुम्बा पाटनमा ठूलोे संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटाइएको छ ।
निकुञ्जका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पर्ने यार्सा पाटनमा पनि सुरक्षा व्यवस्था कडाइ गरिएको छ । ठूलीभेरी नगरपालिकाअन्तर्गतका माझफाल, थरगाउँ, दुरगाउँ, तालीमा पर्ने विभिन्न यार्सा पाटनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको हाे ।
जेठ १३ मा मात्रै यार्सागुम्बा सङ्कलनका लागि यार्सा पाटन खुल्ला गर्ने निर्णय भएकाले यसअघि अवैधरुपमा पाटन छिर्ने जो कोहीलाई सेनाको सुरक्षा गस्तीले पक्राउ गर्ने निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने भोक्पा, भाङ्का, सागबारी, कुनासा लगायतका यार्सा पाटनमा सेनाले गस्ती गरिरहेको छ ।
यार्सागुम्बाको औपचारिक रुपमा सङ्कलन गर्ने समय अगावै चोरी निकासी नहोस् भनेर मेली सामुदायिक वनअन्तर्गतका रुपपानी, माजडाँडा, फुर्के, ज्ञाने, माजगाडीलगायतका दर्जनौं यार्सागुम्बा पाटनमा स्थानीय युवा र सशस्त्र प्रहरीले सामूहिक गस्ती गरिरहेको छ ।
अघिल्ला वर्षमा स्थानीय गस्ती टोली र यार्सा तस्करबीच गोली हानाहानसम्म हुने र स्थानीय त्रसित हुने भएकाले यस्तो हुन नदिन पाटन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको निकुञ्जले बताएको छ ।

तपाईको प्रतिक्रिया