
काठमाडौं । आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ। पश्चिम नेपालको प्रमुख पर्यटकीयस्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले बताए।
‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपूर्ण हुनेछ, संयोजक चन्दले भने,‘खेलकुद विकास त मुख्य उद्देश्य हो। यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ।’
अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो। १५ वर्षदेखि अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ।
रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा(जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


दर्शन खबर । २८ कार्तिक २०७८, आईतवार