
काठमाडौं। भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन्।। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो।
भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन्। प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली जादैछन्।
नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा कार्तिक २४ गते हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा २०७७ कार्तिक २० गते नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान गरेकी थिइन्।


दर्शन खबर । २३ कार्तिक २०७८, मंगलवार