रुकुम पश्चिम । जिल्लाका ५० वडामा विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन र स्थानीयस्तरमा उत्पादन भएको विद्युत् जिल्लाका ५० वडामा पुगेको हो । जिल्लाका ७३ मध्ये ५० वटा वडामा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले जनाएको छ ।अब २३ वटा वडामा विद्युतीकरण हुन बाँकी छ । ‘हामी सबै घरमा विद्युत् विस्तारको अभियानमा छौं,’ वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले भने, ‘त्यसमा निरन्तर लागिएको छ ।’ उनका अनुसार जिल्लाका १४ हजार ५ सय ११ घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् ।
प्रारम्भिक जनगणना अनुसार जिल्लामा जनसंख्या ३८ हजार बढी घरधुरी छन् । जसअनुसार अझै २३ हजार घर विद्युतीकरणको पर्खाइमा छन् । वितरण केन्द्रका अनुसार हालसम्म सबैभन्दा बढी मुसीकोट नगरपालिकाका ४ हजार ३ सय ५१ घरमा बिजुली बलिरहेको छ । सबैभन्दा कम आठबीसकोट नगरपालिकाका २ सय ३९ घरमा मात्र विद्युत्को पहुँच छ । बाँफिकोटका ३ हजार ८ सय ८५, त्रिवेणीका ३ हजार २ सय ४४, चौरजहारीका २ हजार ७ सय ८३ र सानीभेरी गाउँपालिकाका ४ सय ९ घरमा विद्युत् पुगेको छ ।
कोरोना महामारीका कारण भएको लकडाउनले विद्युत् विस्तारमा केही अवरोध गरेको भए पनि कार्य प्रगति सन्तोषजनक रहेको वितरण केन्द्र प्रमुख भट्टराईले बताए । उनका अनुसार अहिले जिल्लामा दुई वटा सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको छ । सल्यानको श्रीनगर र जाजरकोटको जगतिपुर सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको हो । लामो दूरीका कारण विद्युत् सेवा नियमित बनाउन भने ठूलो चुनौती रहेको उनले बताए ।
मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा सबस्टेसनको काम सकिँदा पनि सुचारु हुन बाँकी छ । सबस्टेसन बनेर सञ्चालनमा आएपछि विद्युत्को अनियमितता समाधान हुने विश्वास गरिएको छ । अहिले जिल्ला बाहिरका सबस्टेसनबाट ११ हजार केभी क्षमताको विद्युत् आपूर्ति भइरहेकामा जिल्लाकै सबस्टेसन सञ्चालनमा आएपछि भने ३३ हजार केभी विद्युत् प्रवाह हुनेछ ।
यो सबस्टेसन सञ्चालनमा आएपछि रुकुम पूर्वमा बनिरहेको रुकुमगाड हाइड्रोबाट उत्पादन विद्युत् पनि यसैमा जोडेर वितरण गर्ने प्राधिकरणको तयारी छ । हाइड्रोबाट सबस्टेसनसम्म ल्याउने विद्युत्का लागि तार र पोलको काम सम्पन्न भइसकेको छ ।
दर्शन खबर । २२ कार्तिक २०७८, सोमबार