दाङमा माेटरसाइकल दुर्घटनामा परि एक जनाकाे ज्यान गयाे


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० चइलाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा तुलसीपुर १० बनगैकाका ३५ वर्षीय कैलाश भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। दुर्घटना गएराति पौने १० बजेतिर भएको प्रहरी बताएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएकाे हाे।

तुलसीपुर आउँदै गरेको रा ४ प ६०५८ नम्बरकाे मोटरसाइकलमा तीन जना रहेका प्रहरीले जनाएकाे छ। दुर्घटनामा घाइते भएका लीलाधर खड्कालाई थप उपचारका लागि कोहलपुर लगिएको छ भने अर्का विमल शर्माकाे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइते खड्काको कानमा चोट लागेकाे छ ।

मृतक भण्डारीको शव पोस्टमार्टमको लागि अस्पतालको शव गृहमा राखिएको छ।


तपाईको प्रतिक्रिया