वनमन्त्रीको भाषण चलिरह्यो, भगवती वन जलिरह्यो

जाजरकोट । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत शनिबार जाजरकोट पुगे। उनी पुगेसँगै सदरमुकाम नजिकैको भगवती वनमा आगलागी भयो। तर, मन्त्री बस्नेतले उक्त आगलागीको विषयमा खासै चासो दिएनन् ।
सरकारी कर्मचारी र कार्यकर्ता भेटघाटमै समय बिताए उनले । भोलिपल्ट आइतबार पनि जंगलमा आगो दन्की रह्यो ।
वन मन्त्री बस्नेत सूचना आयोगको सूचनाको हक सम्बन्धी कार्याक्रम, गाँउ र नगरको जिल्ला सभाको बैठकमा सहभागी भएर भाषण गरिरहे । उता जंगलमा आगो दन्किरहेको थियो ।
मन्त्री बस्नेतले उक्त आगलागीमा नियन्त्रणमा चासो दिएको भए सयौं हेक्टर जंगललाई बचाउन सकिन्थ्यो। तर, कसैले चासो दिएन । उक्त आगलागीले सयौं हेक्टर जंगल आगोले सखाप पारिसकेको छ ।
शनिबारबाट सुरु भएको आगो अझैपनि दन्किरहेको छ। तर, नियन्त्रणमा लिने प्रयास गरिएको छैन। आगो निभाउनको लागि न मन्त्रीले निर्देशन दिएका छन् न त स्थानीय प्रशासनले नै ।
नेपाली सेना र नेपाल प्रहरी कार्यालय नजिकै रहेको जंगल जलिरहेको छ ।
सुरक्षाकर्मीले बस्तीतिर आगो आउन नदिन केही प्रयास गरेपनि जंगलको आगो निभाउन खासै पहल नगरेको स्थानीयको गुनासो छ। स्थानीय बासिन्दा पनि आगो निभाउन अग्रसर भएका छैनन् । आगालागी भएको जंगल भिरालो भएको र हावाहुरी चलिरहेकोले निभाउन समस्या भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए ।

पाइप जल्दा खानेपानीको हाहाकार
आगलागीका कारण सदरमुकाम खलंगामा खानेपानीको समस्या उत्पन्न भएको छ । खानेपानीका पाइप आगोले जलेपछि खानेपानीको हाहाकार भएको हो ।
सदरमुकाम खलंगा नजिकैको भगवती सामुदायिक वन र बुदबुदी जंगल क्षेत्रमा लागेको आगोले खानेपानीका पाइप जलेका छन् । पाइप जल्दा दुई दिनदेखि खानेपानी आपुर्ती हुन सकेको छैन ।
अहिले पनि सदरमुकाम नजिकैको बुदबुदी जंगल क्षेत्रमा आगो निभेको छैन ।
जो सदरमुकामवासीले प्रयोग गर्ने खानेपानीको मुहान क्षेत्र हो ।
यही जंगलको पानी स्थानीयदेखि सरकारी कर्मचारी र सुरक्षाकर्मीले खाने गरेका छन् । अन्नपुर्णपोष्ट बाट ।

तपाईको प्रतिक्रिया