
सल्यान । बन्गाडकुपिण्डे नगरपालिका–१ माल्पेमा विद्युत् सेवा विस्तार गर्न ९ वर्षअघि पोल गाडिए पनि स्थानीयबासी अँध्यारोमा रात बिताउन बाध्य छन् । पोल गाडेको वर्षौं बित्दासमेत लाइन विस्तारमा ढिलाइ भएपछि स्थानीयको बिजुली बाल्ने सपना पूरा भएको छैन ।
बिजुली नहुँदा माल्पेका बासिन्दा सल्लाको दियालो, टुकी र लाल्टिनकै भरमा रात बिताउन बाध्य छन् । २०६९ सालदेखि पोल गाड्न र तार तान्न सुरु गरे पनि सरकारी बेवास्ताले अँध्यारोमा बस्नुपरेको स्थानीय पेशल बीसीले बताए । उनका अनुसार केन्द्रीय प्रसारण लाइन जोड्न गाडिएका केही पोल ढलेका छन् भने अधिकांश पोलहरू जीर्ण बनेका छन् ।
लाइन विस्तारको जिम्मा प्रिज्मा निर्माण सेवाले लिएको छ । योजनाका लागि नेपाल विद्युत् प्राधिकरणले करिब एक करोड रुपैयाँ खर्च गरिसकेको छ ।
लाइन विस्तार नहुँदा बिजुली बाल्ने धोको पूरा नभएको स्थानीय पूर्णबहादुर खड्काले बताए । ‘हुने–खानेले सोलार जडान गरेका छन्,’ उनले भने, ‘विपन्न घरधुरी अझै पनि सल्लाको दियालो, टुकी र लालटिनकै भरमा रात गुजार्न बाध्य छौं ।’
विद्युत् सेवा विस्तार हुने भन्दै केही घरधुरीले घरमा वायरिङसमेत गरेका थिए । ‘घरमा गरिएको वायरिङ धूलोधूवाँले कालै भइसक्यो,’ स्थानीय अर्जुन विकले भने, ‘घरअगाडि गाडेका पोल पनि ढल्ने अवस्थामा पुगेका छन् ।’ स्थानीय तह निर्वाचनका बेला गाउँमा बिजुली पुर्याउँछौं भन्ने उम्मेदवारले फर्केर नहेरेको उनले गुनासो गरे । विद्युत् नहुँदा गाउँमा घरेलु उद्योग स्थापना गरी स्वरोजगार बन्ने धोका अधुरै रहेको उनको दुखेसो छ ।
स्थानीय सरकार र विद्युत् प्राधिकरणको लापरबाहीले घर अगाडिका पोल हेरेर चित्त बुझाउनुपर्ने बाध्यता भएको स्थानीयको गुनासो छ । ‘हाम्रा बाबुबाजेले टुकी र सल्ले झर्रोको भरमा रात कटाएका थिए, हामीले पनि परम्परागत ऊर्जा प्रयोग गरिरहेका छौं,’ विकले भने, ‘यस्तै अवस्था हो भने छोरानातिका पालासम्म पनि गाउँमा बिजुली बल्दैन होला ।’ उनले विद्युत् सुविधा नहुँदा मोबाइल चार्ज गर्न छिमेकी गाउँमा जानुपर्ने बाध्यता रहेको सुनाए ।
यसअघि कामको जिम्मा लिएका २ ठेकेदारले काम नगर्दा काममा समस्या भएको ठेकेदार कम्पनीका प्रमुख प्रमोद खड्काले बताए । उनका अनुसार ट्रान्सफर्मरसहित मुख्य लाइन जडानको काम सकिएको छ । तर मिटरबक्सका लागि स्थानीयले वडा कार्यालयको सिफारिस ल्याउन ढिलाइ गर्दा समस्या भएको उनले जानकारी दिए । उनका अनुसार योजनाको झन्डै ९० प्रतिशत काम पूरा भइसकेको छ ।
विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख अशोक लोहनीले आफू नयाँ भएकाले योजनामा भएको ढिलाइबारे जानकारी नभएको बताए । कान्तिपुर


दर्शन खबर । १७ कार्तिक २०७८, बुधबार