लाइसेन्सकाे अनलाइन आवेदन प्रणाली बन्द

काठमाण्डाै । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ ।

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ । मर्मतका लागि भन्दै आज बिहीवारदेखि अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो ।

विभागले नयाँ लाइसेन्सको आवेदन गएकाे सोमवार बेलुकीदेखि खुला गरेको थियो । तर, छ महिनापछि आवेदन खुलेसँगै एकै चोटी चाप पर्दा प्रणालीमा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिनुभयो ।

उहाँले लाइसेन्स आवेदन खुला गर्नासाथ झन्डै ९/१० लाख मानिसले एकैचोटि फाराम भर्ने प्रयास गर्दा हिजाे बुधवारदेखि सर्भर पूर्ण रूपमा बन्द रहेको बताउनुभयो । प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जति सक्दो चाँडो आवेदन खुलाउने उहाँले बताउनुभयो ।

सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएर बसेका अझै साढे तीन लाख बढी लाइनमा छन् । यो सङ्ख्या काठमाण्डाै उपत्यकामा रहेका कार्यालयमा सबैभन्दा बढी छ । उपत्यकामा चार र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरूको पालो पहिले आउने बताउनुभयो । उहाँले भर्खरै आवेदन दिएकाहरूको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिनुभयो ।

विभागले अहिले नयाँ मापदण्डअनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अङ्क ल्याएमा पास भइनेछ । उज्यालो अनलाइन


तपाईको प्रतिक्रिया