
जाजरकोट । भौतिक पूर्वाधार विकास कार्यालयले जाजरकोटमा १६५ किलोमिटर सडक निर्माण गरेको छ ।
जिल्लाका रणनीतिक सडक निर्माणलाई जारी राखेको पूर्वाधार कार्यालयले यस आर्थिक वर्षमा पनि निरन्तरता दिनेछ । कच्ची कडान गरी हलुका साधन सञ्चालनसमेत भइरहेका पूर्वाधार कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिए ।
उनका अनुसार कचाली–गुराँसे–धरमपोखरा सडक निर्माण कार्य जारी छ । पश्चिम जाजरकोटको महत्वपूर्ण सडकका रूपमा रहेको छिन्चु–जाजरकोट सडक खण्डसँग जोडिएको मोर्क–स्यापी–सिस्ने–नेपा हुँदै कचाली जोड्ने सडकको कामसमेत जारी छ । आन्तरिक सडकमध्ये लिर्ता–कार्कीगाउँ–मछाइना सडकको निर्माण चलिरहेको प्रमुख कार्कीले बताए ।
त्यस्तै, आन्तरिक सडकमध्येकै साइलेख साँघु–रावतगाउँ–ध्यारगाउँ सडकसमेत निर्माणको चरणमै रहेको उनको भनाइ छ ।
जिल्लाको रणनीतिक सडकमध्येको जुम्लासँग जोड्न निर्माण थालिएको पाँचकाटिया–फुल्चाउली–कयाल्दापाखा–बारेकोट–चाखुरे–जुम्ला सडकको निर्माण कार्य जारी छ । कच्ची कटान भएका सडकमा अहिले हलुका सवारी साधनसमेत सञ्चालनमा छन् ।
त्यस्तै, जुम्ला जोड्ने अर्को सडक जाजरकोट–कुशे–चाल्ना–व्याउली–जुम्ला सडकको समेत काम चालू अवस्थामा छ । पर्यटकीय स्थल पाँचकाटिया हुदै पिउली–नेटीलेक सडकको कच्ची कटान भइरहेको छ । प्रदेशले जिम्मा लिएका सडकमा काम भइरहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए ।
त्यस्तै, स्थानीय तहलेसमेत सडक निर्माणलाई महत्व दिँदै आएका छन् । यद्यपि सबै पालिकामा निर्माण भएका सडकको यकिन तथ्यांक नलगाड नगरपालिकाबाहेक अन्य स्थानीय तहले दिन सकेका छैनन् ।
नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा सडक सफा तथा मर्मत ६७ किलोमिटर र सडकको नयाँ ट्रयाक खुला २६ किलोमिटर रहेको सब–इञ्जिनियर जनक खड्काले बताए । रासस


दर्शन खबर । १० कार्तिक २०७८, बुधबार