आजदेखि सार्वजनिक गाडीको भाडा घट्यो


रसुवा । रसुवामा आजदेखि सार्वजनिक गाडीको भाडा घटेको छ । यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटेको हो ।

सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि कार्तिक १ देखि रसुवाबाट काठमाण्डौसम्मको भाडा ८ सय १७ रुपैयाँ लिँदै आएका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले यातायात व्यवसायीसँग छलफल गरेपछि भाडा समायोजन भएको हो ।

जिल्लामा सञ्चालन हुने सार्वजनिक गाडीले आजदेखि साविकको भाडादरमा १० देखि १५ प्रतिशत मात्र भाडा लिने भएका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । ‘हामीले जनतालाई केही राहत मिलोस भनेर भाडादर बारे व्यवसायीसँग छलफल गरेका थियौं’, उहाँले भन्नुभयो, ‘यसमा व्यवसायी सकरात्मक भएका थिए ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रकाशन गरेको राजपत्र अनुसार काठमाण्डौ – धुञ्चेको भाडा ३ सय ६५ रुपैयाँ तोकिएको छ । जसमा व्यवसायीले बाटोको अवस्था र गाडीमा दिइने सेवा सुविधाको आधारमा हेरेर १५ प्रतिशतसम्म भाडा बढाउन सक्छन् । तर मन्त्रालयले यातायात व्यवसायीले यसअघि लिँदै आएको भाडा भन्दा पनि कम दररेट निर्धारण गरेको हाे । यसअघि सार्वजनिक यातायातले ६ सय ६५ रुपैयाँ भाडा लिँदै आएका थिए ।

अब प्रशासनकाे आग्रहमा भाडादर घटेपछि अहिले रसुवाबाट काठमाण्डाै सात सय ३० रुपैयाँ भएकाे छ ।

तपाईको प्रतिक्रिया