सवारी लाइसेन्सको नयाँ आवेदन खुल्यो, बिहान ६ देखि राती १० बजेसम्म फारम भर्न सकीने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ । विभागले करिब ६ महिनापछि नयाँ आवेदन खुलाएको हो ।
कोरोना महामारी फैलिएपछि गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द गरिएको थियो । सोमवारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । ‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ’ प्रवक्ता भुसालले भने ‘आवेदकको पालो भने फर्म भरेको चार/पाँच महिनापछि मात्रै आउँछ ।’
यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ । विभागले अहिले ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ ।

कसरी भर्ने लाइसेन्स आवेदन ?
सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ । यातायात व्यवस्था विभागको वेबसाइटबाट अनलाई फारम भर्न सकिन्छ ।
वेबसाइटको पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने । त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने ।
नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने ।
त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने । त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने ।

तपाईको प्रतिक्रिया