
जुम्ला । जुम्लामा बेमौसमी वर्षाको बाढीपहिरोले विद्युतगृह, नहर र बाँध बगाएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । बाढीले आधा दर्जन बढी विद्युत् आयोजना प्रभावित हुँदा आपूर्ति अवरुद्ध भएसँगै जुम्लाका गाउँबस्ती अन्धकार भएका हुन् ।
तातोपानी गाउँपालिका र तिला गाउँपालिका क्षेत्रभित्र रहेका विद्युत गृहमा बाढीले क्षति गरेको हो ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पालिकाभित्रका ५ जलविद्युत् आयोजनामा क्षति पुगेको बताए । तातोपानी वडा नम्बर ८ को घट्टेखोला साना जलविद्युत् आयोजना २१ किलोवाट, इमिल्चा साना जलविद्युत् आयोजना ९ किलोवाट र वडा नम्बर ७ को १८ किलोवाटको ताम्ती साना जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर ४ स्थित २ सय किलोवाटको गिरीखोला साना जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । हाँकु गाउँमा रहेको साना जलविद्युत्मा पनि क्षति पुगेको उनले बताए ।
गिरीखोला विद्युत् आयोजनाबाट भर्खर मात्र बिजुली निकालेर गाउँमा लगिएको थियो । यो क्षेत्रका तीन गाउँमा दुई सातादेखि बिजुली बलेको थियो । बाढीले आयोजनाको विद्युत्गृहमा रहेको आउटलेट क्यानल ५७ मिटर, इन्टेक कटान गरी पूरै संरचना पुरिएको विद्युत् आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।


दर्शन खबर । ६ कार्तिक २०७८, शनिबार