दशैंमा जथाभावी मूल्यबृद्धि, उपभोक्तालाई सास्ती


सुर्खेत । चाडपर्वको मौका पारी सुर्खेत आसपासका क्षेत्रका व्यापारीले तरकारी, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र रंगरोगनका सामाग्रीमा आफुखुशी मूल्य बढाएका छन् । बजार अनुगमन तीव्र पारिएपनि व्यापारीले अखाद्य वस्तु र म्याद नाघेका उपभोग्य सामग्री विक्री वितरणसँगै मनलाग्दी मूल्यबृद्धि गर्न छोडेका छैनन् । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रति बढ्दै गईरहेको छ । सबैजसो व्यापारिक केन्द्रहरुमा व्यापारीको मनोमानी बढेको छ । यसअघि २ सय ६० रुपैयाँ प्रतिलिटर पर्ने खानेतेलको मूल्य १० रुपैयाँ बढाइएको छ भने चामल प्रतिबोरा ३० देखि ५० रुपैयाँ बढाएर बिक्री गर्न थालिएको छ । बजारमा १ सय २० रुपैयाँ पर्ने दालमा १० रुपैयाँ बढाइएको स्थानीय हरिमाया ढकालले बताईन् । उनका अनुसार ४० देखि ५० रुपैयाँमा बिक्री हुने तरकारीको मूल्य प्रतिकिलो ८० देखि १०० रुपैयाँ बनाइएको छ । मूल्य वृद्धिको असर आर्थिक रुपमा विपन्न र मजदुरी गर्ने वर्गमा बढी परेको स्थानीय अगुवा पिताम्वर ढकालले बताए ।

‘कसैलाई त चाडपर्वमा पनि बिहान–बेलुकाको छाक टार्न समस्या छ,’ उनले भने, ‘उनीहरुलाई चाडपर्वमा झन् सहुलियत दिनुपर्नेमा व्यापारीले मूल्य बढाइरहेका छनु ।’ कोरोना महामारीले अधिकांश विपन्नको रोजगारी गुमेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए । गाउँघरमा अभावको हल्ला फैलाएर व्यापारीले जथाभाबी भाउ बढाउँदै लगेको सृजना रोकायले बताईन् । ‘काम गर्दा दिनमा ५ सय रुपैयाँभन्दा बढी ज्याला पाइँदैन,’ उनले भनिन्, ‘महँगीका कारण त्यो ज्यालाले साँझ–बिहानको चुलो बाल्न पनि कठिन भयो ।’ कम्पनीहरुले नै मूल्य बढाउँदा बजारमा महँगी बढेको व्यापारीहरुको गुनासो छ । सदरमुकाम वीरेन्द्रनगरका व्यापारी ईश्वर श्रेष्ठले कम्पनीहरुले बढी परिणामको स्टिकर टाँसेर कम परिणामको सामान पठाउने गरेको गुनासो गरे । उनले एक लिटरको तेल भनी ९ सयदेखि ९ सय एमएलसम्मको तेल कम्पनीले उत्तिबाट भरेर पठाउँने गरेको बताए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जथाभाबी मूल्य वृद्धि नगर्न, अखाद्य वस्तु बिक्री नगर्न र व्यापारिक मर्यादा कायम राख्न व्यवसायीलाई आग्रह गरिएको बताए । चाडपर्वको समयमा उपभोक्तालाई ठगीमा पर्न नदिन बजार अनुगमनलाई तीव्रता दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसम्शेर रानाले जनाए ।

तपाईको प्रतिक्रिया