कर्णाली बासिको पिडा – दसैँको मुखमा घर छोडि कालापहाड

सुर्खेत । दसैँको रौनकले सबैतिर छोपिसक्यो । गत बिहीवारदेखि दसैँ सुरू भइसकेको छ । घर-घरमा जमरा राखिएका छन् । आउँदो शुक्रवार दशमी, मान्यजनबाट टीका थापेर आशिष् लगिँदै छ । सहरदेखि गाउँघरसम्म चाडको चहलपहल छ । मिठो मसिनो खाने, नयाँ लुगा लगाउने र आफन्त तथा साथीभाइ भेटघाट गरेर मनाउने पर्व हो दसैँ । वर्षदिनमा एकचोटी भए पनि मूलघर टेक्ने समय मानिन्छ यो । चाड मनाउन आउनेको लस्कर लाग्छ । यतिबेला देश-विदेशमा रहेकाहरू गाउँतिर सोझिन्छन् । पेसा व्यवसाय र अध्ययनका सिलसिलामा घरबाहिर रहेकाहरू परिवारसँगै खुसी साट्न फर्किन्छन् ।
कणर्ालीमा भने अलि भिन्न दृश्य देखिन्छ । यहाँ चाडपर्व मनाउन घर आउनेहरू मात्र छैनन्, यसैबेला गाउँघर छोड्नेहरूको संख्या पनि ठूलो छ । फर्किनेको लर्कोसँगै रोजगारीका लागि परदेश पस्नेको ताँती छ । दसैँको मुखमा बसपार्क र नेपाल-भारत सीमा नाकाहरूमा आउने-जानेको उस्तै भिड देखिन्छ । कोही घर आउँदै छन्, कतिपय भारत जाँदै । बडादसैँका बेला गाउँ फर्कने र छोड्ने दुवै थरीका भने आफ्नै खुसी र बाध्यता छन् ।
चाडका बेला गाउँ आउनेलाई उमंग छ, यतिबेलै कामको खोजीमा घर छोड्नु पर्नेलाई पीडा । कणर्ालीका सबैजसो जिल्लामा बेरोजगारी समस्या अधिक छ । देशभित्रकै ठूला सहर र भारत लगायत तेस्रो मुलुक नगइ धेरै नागरिकलाई जीवन धान्न मुस्किल छ । त्यसैले मुख्य चाडमा पनि कणर्ालीबासी परिवार छोडेर रोजगारी खोज्न भारत गइरहेका हुन् । कोरोना महामारीका कारण पुरै समय काम गर्न नपाएर भारतबाट फर्किएकाहरू चाड भित्रिसक्दा पनि फेरि बाहिरिन थालेका छन् । अहिले भारत हिँडेकाहरू भन्छन्, ‘मन त थियो घरआँगनमै रमाएर चाड मनाउने । के गर्नु, गरिबीले यसैबेला कालापहाड लखेट्यो ।’ कणर्ालीमा ज्याला मजदुरी गर्न भारत जानुलाई कालापहाड भनिन्छ ।
शनिवार वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा भेटिए, दैलेख आठबिस नगरपालिका-३ का रमेश बडुवाल । उनी भारतमा नोकरी गर्न हिँडेका हुन् । दसैँको मुखमा घर छोड्नु उनको बाध्यता रहेछ । यसअघि पनि घर खर्च जुटाउन भारत आउजाउ गरिरहने बडुवाल कोराना महामारीले गर्दा दुई वर्षदेखि घरमै थन्किएका रहेछन् ।
यसपाली चाड त आए, तर उनको मनमा उमंग छाएन । ‘न पकेटमा नगद, न त घरमा खाने गाँस,’ उनले भने, ‘दसैँ मनाउने मेसो नभएपछि यसैबेला मन भारी बनाएर घर छोडियो ।’ उनले यतिका लामो समय गाउँमा रहँदा कुनै रोजगारीका अवसर नपाएको सुनाए । ‘कमाइकाज हुने काम गाउँमै पाए किन गइन्थ्यो अर्काको देश,’ उनी भन्छन् । उनीप्रति आश्रित परिवार दसैँमा भारत जान दिनेमा मञ्जुर थिएन । बडुवालले भने, ‘परिवारले चाड सकिएपछि जानुहोला भनेका थिए, गोजीमा दुई पैसा नहुँदा मनले घर बस्नै मानेन ।’ दुई वर्षअघि घर फर्केका बडुवालले आफू भारतको कोटद्वारस्थित एक होटेलमा काम गर्नेगरी जान लागेको बताए । ‘होटेल मालिकले छिटै आउनु भनेर खबर पठाए, मालिकको फोन आएपछि आँगनमा आएका चाड पनि बिर्सिएर जाँदै छु,’ उनले भने, ‘बरु दसैँ अर्को साल मनाउला । कमाइ नगरे परिवारको गर्जो कसरी टाल्नु ?’
परदेशिने तयारीमा सीटी बसपार्कमै गाडि पर्खिरहेका अर्को व्यक्ति थिए, दैलेखको ठाँटीकाँध गाउँपालिका-२ का सन्तराम विक । उनी निराश देखिन्थे । खुसी हुन पो कसरी, चाडका बेला जो घर छोडेर हिँडेका छन् । सन्तराम भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली जाँदै थिए । विगतका वर्षहरूमा पनि उनी ज्यालामजदुरी गर्न त्यहीँ पुग्थे । कोरोना त्रासले फर्किका उनी अहिले फेरि भारत जान लागेका हुन् । घरमा सात जनाको परिवार छ । सन्तरामकै कमाइको भरले खर्च चलाउनुपर्छ । थोरै पाखोबारी छ, त्यसको उब्जनीले तीन महिना खान पुग्दैन । ‘आफूले कमाएर नपठाए घरमा चुल्हो बल्दैन,’ उनी भन्छन, ‘परदेशिनु मेरो बाध्यता हो ।’ उनले घर परिवारलाई ऋण-सापट गरेर भए पनि दसैँ मनाउन सुझाएर आफू हिँडेको बताए ।
कणर्ालीका नागरिकहरू खासगरी खेतीपातीको काम सकेर भारत जान्थे । धन कमाएर दसैँ-तिहार जस्ता ठूला पर्वमा गाउँघर फर्किन्थे । पछिल्लो समय कोरोना महामारीका कारण धेरैले भारत पुग्न वित्तिकै काम छोडर फर्कनु पर्‍यो । लामो समय गाउँमै बेरोजगार बसे । आर्थिक अभावले अहिले उनीहरू घर फर्कनुपर्ने सिजनमा भारत पस्न थालेका हुन् । प्रहरीका अनुसार कणर्ालीको मुख्य नाका बबई भएर भित्रिने र बाहिरिनेको संख्या बराबरी जस्तै छ । भारतबाट दैनिक फर्कने एक एक सय हाराहारीमा छन् भने उता जानेको संख्या पनि ५० बढी छ ।
कणर्ालीका हजारौं नागरिकको जीवनको उर्जाशील समय भारतमा ज्यालामजदुरी गरेर बित्छ । यहाँबाट रोजगारीका लागि भारत जाने युवाको संख्या बर्सेनि बढ्दो छ । यकिन तथ्याङ्क नभए पनि कणर्ालीका झन्डै एक लाख नागरिक भारतका विभिन्न सहरमा रहेको आकलन छ । तीमध्ये सबैजसो कामको खोजिमा गएकाहरू हुन् । गाउँमा कमाइ गर्नलाई रोजगारीका अवसर छैनन् । जीविकोपार्जनका लागि भारत पस्नु कणर्ालीको पुरानै बाध्यता हो । साझा बिसौनी दैनिकमा खबर छापिएकाे छ ।

तपाईको प्रतिक्रिया