
काठमाण्डौ । आज विश्व हुलाक दिवस मनाइँदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइँदै आएको छ ।
हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएको हो । तर, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय सङ्कटमा परेको छ ।
नेपालमा १९३५ सालदेखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको हो ।
एक दशकअघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् ।
जिल्ला हुलाक कार्यालय म्याग्दीमा २० वर्षभन्दा बढी सेवा गरी अहिले सेवानिवृत्त हुनुभएका झकबहादुर थापा एक दशकअघिसम्म चिठीपत्रको चापका कारण काम गर्न भ्याइनभ्याइ हुने हुलाक अहिले सरकारी कार्यालय तथा संस्थाका पत्र र विदेशबाट आउने व्यक्तिगत सामानको काम गरेर आफ्नो अस्तित्व बचाइरहेको बताए। सूचना प्रविधिले इन्टरनेटको विकास गरेपछि विश्वलाई नै एउटा गाउँमा परिणत गरिदिएको र यसले दूरसञ्चारमा समेत चुनौती थपिएको उनको भनाइ छ ।


दर्शन खबर । २३ आश्विन २०७८, शनिबार