सुर्खेत दैलेख सडकका खाल्डा टालटुल पार्न सुरु


सुर्खेत । लामो समयदेखि खाल्डाखुल्डीका कारण सवारी साधन आवतजावतमा कठिनाइ भएका कर्णालीका मुख्य दुई सडकका खाल्डा पुर्न थालिएको छ । सुर्खेतको हर्रेदेखि वीरेन्द्रनगरसम्म र वीरेन्द्रनगरदेखि दैलेख सडकखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको हो । उक्त सडकका विभिन्न क्षेत्रमा परेका खाल्डा पुर्न संघीय सरकारले करिब ३ करोड बजेट विनियोजन गरेको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार उक्त सडक तत्काल स्तरोन्नति नहुने भएपछि सडकमा हुने जोखिम कम गर्न र थप क्षति हुन नदिन खाल्डाखुल्डी पुर्न थालिएको हो । कार्यालयका सूचना अधिकारी सजना पोखरेलले विभिन्न चरणमा गरेर हर्रेदेखि दैलेखसम्म जोड्ने सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम सुरु गरिएको जानकारी दिईन । कोहलपुर–सुर्खेत सडक स्तरोन्नतिको कामअहिले सुरु नहुने देखिएको भन्दै पोखरेलले यी सडक स्तरोन्नति नहुन्जेल थप क्षति नहोस् भनेर अहिले खाल्डाहरू मात्रै पुर्न थालिएको बताईन् ।
हर्रेदेखि सुब्बाकुनासम्मको खाल्डाखुल्डी पुर्न र सडक मर्मतका लागि ४४ लाख रुपैयाँ खर्च गरिन पोखरेलले बताईन् ।
उनका अनुसार हर्रेदेखि सुब्बाकुनासम्मको सडकखण्ड मर्मतको जिम्मा प्रवीण निर्माण सेवाले लिएको छ । वीरेन्द्रनगरको फोरलेन सडक र दैलेखका विभिन्न सडकखण्डमा पनि खाल्डा परिसकेकाले मर्मत गर्ने कार्यालयको योजना छ । जसका लागि २ करोड ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कोहलपुर–सुर्खेत सडकखण्ड लामो समयदेखि स्तरोन्नति नहुँदा सवारी साधन आवतजावतमा कठिनाइ भईरहेको छ ।