बजारमा अखाद्य वस्तु छ्याप्छ्याप्ती, आठ लाखको सामान बरामद


सुर्खेत । बजारमा गुणस्तरहीन सामग्री बिक्री हुने गरेका छन् । पछिल्लो समय त्यो क्रम झन् बढेको छ । चाडपर्व नजिकिएसँगै व्यवसायीहरूको मनोमानी हुन थालेको हो । दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धिसँगै अखाद्य सामग्री बिक्री भइरहेका हुन् । जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले केही दिनयता नियमितजसो गरिरहेको अनुगमनका क्रममा बेथिति बढेको पाइएको छ ।
प्रदेश राजधानीको बजार वीरेन्द्रनगरदेखि ग्रामीण क्षेत्रसम्म अखाद्य वस्तु भेटिन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र कतिपय स्थानीय तहहरूले अहिले बजार अनुगमन गरिरहेका छन् । सुर्खेतको पूर्वी क्षेत्र सिम्ता गाउँपालिकाको जामुने, गुर्भाकोट नगरपालिकाको बोटेचौर, भेरीगंगा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा रहेका २५ वटा पसलहरूमा अनुगमन गर्दा अधिकांशमा कैफियत भेटिएको जनाइएको छ । तीमध्ये धेरै पसलहरू दर्ता नै नगरी सञ्चालनमा ल्याइएका छन् । त्यस्ता पसलहरूले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको अनुगमन टोलीले जनाएको छ । व्यापारीहरूले अखाद्य वस्तु बेच्ने र मूल्यसूचि नराख्ने जस्ता बदमासी गरेको पाइएको हो ।
जिल्लाको पश्चिम क्षेत्रका बजारहरूमा पनि व्यापारीहरूको उस्तै हालीमुहाली छ । केही दिनयताको अनुगमनका क्रममा पूर्वी र पश्चिमसँगै वीरेन्द्रनगर बजारबाट करिब आठ लाख बराबरको अखाद्य वस्तु र करछली गरेका सामान बरामद गरिएका छन् । बरामद सामग्रीमध्ये केही अनुसन्धानको क्रममा रहेको र कतिपय नष्ट गरिएको प्रशासन कार्यालयले जनाएको छ । विभिन्न सरोकारवाला निकायको समन्वयमा दैनिक अनुगमन गरी बदमासी गरेको भेटिए कारबाहीको प्रक्रिया अघि बढाउने गरिएको छ । ग्राहकलाई बढी मूल्यमा सामान बेच्ने, म्याद गुज्रिएका सामग्री बिक्री गर्ने तथा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही हुने गरेको हो ।
अनुगमनकै क्रममा भेरीगंगा नगरपालिकाको छिन्चु बजारमा रहेको एक खाद्य गोदामको चामल गुणस्तरहीन पाइएपछि बिक्री वितरण गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बजारमा अखाद्य र गुणस्तरहीन सामान बेच्ने गरेको भेटिएको जनाए । बजार हरेक वर्ष अस्तव्यस्त बन्दै गएको उनी बताउँछन् । ‘गतवर्ष सहर केन्द्रित ठूला पसलहरूमा बढी समस्या थियो,’ उनले भने, ‘यो पटकको अनुगमनमा स्थानीय बजारहरूमा अखाद्य वस्तु धेरै फेला प¥यो ।’ चाडपर्वका बेला अखाद्य वस्तु बिक्री गर्ने र उपभोक्ता ठगिने भएकाले सामान खरिद गर्दा चनाखो हुनुपर्ने उनले बताए । ‘वस्तु खरिद गर्दा उत्पादन मिति, लेवल, मूल्यसूचि लगायतमा ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार गत आर्थिक वर्षमा दुई वटाको कारोबार रोक्का, चारवटा सिलबन्दी र २१ वटा खाद्य उद्योगलाई कारबाही गरिएको थियो । यो पटक पनि बजारको अवस्था नसुध्रिएको कार्यालय प्रमुख भेषबहादुर थापा बताउँछन् । खासगरी पेय पदार्थ, तेल र दुग्धजन्य उत्पादनमा ग्राहकहरू ठगिने गरेको उनले बताए । सुर्खेतमा मात्र नभइ कर्णाली प्रदेशरकै बजारमा समस्या रहेको डिभिजन कार्यालयले जनाएको छ । ग्रामीण भेगका बजार मात्र नभइ प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालित ठूलो लगानीका व्यवसाय पनि मापदण्ड अनुसार सञ्चालन भएका छैनन् । नियमित अनुगमन र कारबाही हुन नसक्दा बजारको विकृति नियन्त्रण नभएको हो । नियमनकारी निकायको उदासीनताले बजारमा मनोमानी गर्नेहरू उम्कदै आएको उपभोक्ताको गुनासो छ ।
स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था कार्यालय, गुणस्तर तथा नापतौल र घरेलु तथा साना उद्योगलगायतका कार्यालयले आफ्नो अधिकारभित्र रहेका बजार–व्यवसायको अनुगमन गर्दै आएका छन् । अनुगमनको अधिकार स्थानीय तहलाई पनि छ । तर, बजार सुधारका लागि पालिकाहरूको सक्रियता भने कमै देखिन्छ । प्रशासनले पहिलो पटक गल्ती गर्नेलाई सचेत गर्ने गरिरहेको छ । एउटै व्यवसायीले पटक–पटक बदमासी गरेको भेटिए मात्र कारबाही गरिन्छ । जसले गर्दा अखाद्य वस्तु बिक्री गरेर जनस्वास्थ्यमा खेलवाड गर्ने कैयन व्यवसायीहरू कानुनी दायरामा आउन सकेका छैनन् । बजारमा विकृति हुनुमा उत्पादक र बिक्रेता मात्र नभइ उपभोक्ताको पनि कमजोरी हुने गरेको नियमनकारी निकायहरू बताउँछन् । साझा बिसौनी दैनीकमा खबर छापीएको छ ।

 

तपाईको प्रतिक्रिया