उपभाेक्ता ठग्दै छिन्चुको बराल ईन्टरप्राईजेज


सुर्खेत । भेरिगंगा नगरपालिका स्थित छिन्चुमा रहकोे बराल ईन्टरप्राईजेजलाई चामल विक्री वितरणमा रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले बुधबार भेरीगंगा नगरपालिकाको छिन्चु स्थित बराल ईन्टरप्राईजेजमा म्याद नाघेका केही खाद्य वस्तु जफत गर्दै उत्पादन मिति उल्लेख नभएको करिब ५० बोरा चामलको विक्री वितरणमा रोक लगाएको हो ।
वीरगञ्जको मनोज खाद्य उद्योगले उत्पादन गरेको सोना मन्सुली चामलको बोरामा उत्पादन मिति उल्लेख नगरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थाले जानकारी दिए । उनले उत्पादन मिति उल्लेख नगरि विक्री वितरण गरेको पाईएपछि विक्री वितरणमा रोक लगाईएको बताए । उनका अनुसार अबको १५ दिन भित्र उक्त चामललाई नष्ट वा फिर्ता नगर कानून अनुसार कार्वाही हुनेछ ।

यस्तो छ कानुनी व्यवस्था ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न निषेध गरेको छ । ऐनको दफा १६ ले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री गर्न नपाइने व्यवस्था छ । त्यस्तै झुठा वा भ्रमपूणर् विज्ञापन गर्ने वा भ्रमपूणर् विज्ञापन गरी वस्तु बिक्री गर्ने व्यापारीलाई पनि कानूनले कठघारामा ल्याउनेछ ।
बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले उपभोक्तालाई ठगी गरेको पाइएमा निरीक्षण अधिकृतले तत्काल जरिवाना गर्न सक्ने उक्त ऐनमा उल्लेख छ । वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाई वा झुक्याइ त्यस्तो वस्तु तथा सेवा बिक्री वितरण गरेमा निरीक्षण अधिकृतले अनुगमन क्षेत्रमै दुईदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा व्यवस्था छ । बजार अनुगमनमा खटिइएका बजार निरीक्षण अधिकृतले पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनका लागि खरीद गरेको वस्तु वा सेवाका उत्पादक, खरीद बिल वा बिजक नराखेमा पाँचदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।
त्यस्तै कुनै वस्तु वा सेवा सञ्चित गरी वा अन्य कुनै तरिकाले कृत्रिम अभाव खडा गर्ने र निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा बिक्री गर्ने तथा त्यस्तै प्रकृतिका अन्य कुनै काम गर्ने व्यापारीलाई ५० हजारदेखि एक लाखसम्म जरिवाना हुनेछ । ऐनले निषेध गरेका कार्य दोहोर्‍याएमा पटकैपिच्छे दोब्बर जरिवाना गर्न सक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया