राप्ती राजमार्ग खुल्यो,दोषीलाई कारवाही गर्ने प्रतिवद्धता

सल्यान । जिपको ठक्करबाट दुई युवतीको मृत्युपछि स्थानीयले अवरुद्ध गरेका राप्ती सडक सञ्चालनमा आएको छ।

दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिने सहमतिपछि शनिबार बिहान ३ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले जानकारी दिए।

सहमतिमा बरलामा प्रहरी चौकी स्थापना गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्ने, मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने छ। ठाउँ ठाउँमा प्रहरी नहुँदा दुर्घटनाका बढेको जनगुनासो आएपछि बरलामा प्रहरी बिट राखिने उनको भनाइ छ। सडक अवरुद्ध हुँदा लामो तथा छोटा दूरीका सयौं गाडी जाममा परेका थिए। यात्रु अलपत्र परेका थिए।

शुक्रवार बिहान थारमारेबाट सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका–२ बाङ्गेसल्लामा रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको थियो। ठक्करबाट शारदा–६ बरलाकी करिब १८ वर्षीया रेखा बुढाथोकी र सोही उमेरकी सुनिता नेपालीको मृत्यु भएको थियो । अन्य तीन छात्राको नेपालगञ्जमा उपचार भइरहेको छ।


तपाईको प्रतिक्रिया