
सुर्खेत । दशैं, तिहार, छठजस्ता नेपालीका ठूला चाडपर्वहरुलाई लक्षित गरी सुर्खेतका व्यापारीहरुले सहुलियतको तयारी गरेका छन् । सुर्खेत उद्योग बाणिज्य संघले बुधवार विभिन्न वस्तुगत समितिहरुलाई बोलाएर छलफल गरेपछि सहुलियतको तयारी गरिएको हो ।
दशैंमा बढी खपत हुने खाद्यान्न, नुन, तेल, तरकारी, फेन्सी कपडा, फलफूल तथा माछामासुमा सक्ने गरी सहुलियत दिन संघले आग्रह गरेको छ । यस्तै अन्य पसलहरुले पनि उपभोक्तालाई राहत पुग्ने गरी आफ्नो क्षमता अनुसारको सहुलियत दिन भनिएको छ । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले चाडपर्वमा उपभोक्तालाई ध्यानमा दिएर सक्ने जति छुटको व्यवस्था मिलाउन आव्हान गरिएको बताए ।
छलफलमा सहभागी विभिन्न बस्तुगत उपसमितिका पदाधिकारीहरुले आफूहरुले सक्ने जति सहुलियत दिने प्रतिवद्धता जनाएका छन् । साथै उनीहरुले तरकारी बोकेका गाडीहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने, विक्री नभएका सामानहरु फिर्ता नलिने जस्ता गुनासो समाधान गर्न संघलाई आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका दुर्गाप्रसाद आचार्यले म्याद नाघेका बस्तुहरु नबेच्न, कागजातहरु चुस्तदुरुस्त राख्न व्यापारीहरुलाई सुझाव दिए ।


दर्शन खबर । १४ आश्विन २०७८, बिहीबार