
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या एक लाख एक हजार रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले जानकारी दिएका छन् । लक्षित वर्गका नागरिकहरु मध्ये सुर्खेतमा २४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने १९ प्रतिशतले दोश्रो मात्रा पनि लगाइसकेको छन् ।
‘करिब ३५ हजार जनालाई ४५ वर्ष माथि र यसअघि प्राथमिकतामा परेका १८ वर्ष माथिका तोकिएका लक्षित वर्गकालाई खोप लगाउने योजना छ । ९९ वटै वडामा गएर खोप लगाउने कार्यक्रम रहेको छ ।’ उनले भने, ‘यो खोप लगाउने कार्य आगामी असोज १४ गतेसम्म रहनेछ ।’ उनले सुर्खेतका ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य रहेको बताए ।‘सुर्खेतमा १८ वर्ष भन्दा माथिको जनसंख्या ७२ प्रतिशत हो । यो हाम्रो लक्ष्य पनि हो ।’ उनले भने, ‘खोप लगाउन नचाहने, खोप लगाउन आनाकानी गर्नेहरुको संख्या पनि धेरै भएको गुनासो आएको छ । अब हामी जनचेतनामूलक कायृक्रमहरु गर्दै सुर्खेतमा खोप अभियान सूरु गर्छौं । खोपले कसैलाई असर गर्दैन बरु कोरोना संक्रमण हुन बाट जोगाउाछ भनेर अभियान सुरु गर्ने र नागरिकलाई फकाएरै भएपनि खोप लगाउने गरि कार्यालय अघि बढछ ।’
यसकालागि सञ्चार माध्यमले पनि कोरोना खोप बारे आवश्यक सामाग्री प्रकाशित गरिदिनुपर्नेमा उनले जोड दिए । उनले कोरोना विरुद्धको खोप सबैभन्दा बढि वीरेन्द्रनगरवासीले लगाएको बताए ।


दर्शन खबर । ११ आश्विन २०७८, सोमबार