पुजारी मारेपछि ११ वर्षदेखि थुनामा रहेको ‘विक्रम’ आजीवन कैद भोग्दै


बर्दिया ।
निकुञ्ज र वन क्षेत्र आसपास मानवीय क्षति पुर्‍याउने वन्यजन्तुलाई नियन्त्रणमा लिने गरिन्छ । यस्ता वन्यजन्तुलाई संरक्षणकर्मीले केही समयपछि पुनः प्राकृतिक बासस्थानमा छाडिदिन्छन् । यहाँस्थित एउटा गैंडा भने ११ वर्षदेखि खोरमै छ । मान्छे मारेपछि बर्दिया राष्ट्रिय निकुञ्जले उक्त गैंडा लाई ‘आजीवन’ खोरमा राख्ने निर्णय गरेको थियो ।
ठाकुरबाबा नगरपालिका–९ स्थित मन्दिरका पुजारीलाई २०६७ जेठ ४ मा मारेपछि उक्त गैंडालाई खोरमा राख्न थालिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताए । पुजारीलाई मारेको केही समय गैंडालाई निकुञ्ज मुख्यालय परिसरमा चरिचरनका लागि राखिएको थियो । त्यस अवधिमा मानिसको गन्ध थाहा पाउनासाथ आक्रमण गर्न र परिसरबाहिर निस्केर खेतीबालीमा क्षति पुर्‍याउन थालेपछि खोरमा राखिएको थापाले बताए । ‘तर, आनीबानीमा कुनै सुधार आएन । मानिस आएको थाहा पाउनासाथ खोरमा समेत आक्रामक बन्ने गरेको थियो, सर्वसाधारण असुरक्षित हुने भएकाले खोरमै थुनेका हौं,’ उनले भने, ‘उसलाई पोषणयुक्त आहारा खुवाउँछौं, स्वास्थ्य अवस्था बुझ्न बेलाबेला चिकित्सक खटिएका छन् ।’
निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार विक्रम र कुमार नामका गैंडाका दुई केटोलाई २०५५ सालमा चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा स्थानान्तरण गरिएको थियो । दुवैका आमाको मृत्यु भयो । अन्य वन्यजन्तुले आक्रमण गर्न थालेपछि तिनीहरू निकुञ्जबाहिर बस्दै आएका थिए । आहाराका लागि बस्तीमा डुल्थे । खेतबारीमा पसेर क्षति पुर्‍याउँथे । निकुञ्ज मुख्यालयस्थित ब्यारेकका सैनिकले भात, तरकारी र फलफूल दिन्थे । साँझ परेपछि निकुञ्जको जंगलमै फर्किन्थे ।
१६ वर्षअघि कुमार मारिएको खबरले निकै चर्चा पाएको बताए । उसको मृत्युपछि विरक्तिएको विक्रम बबई उपत्यका छाडेर ठाकुरद्वारातिर हिँड्यो । खेतमा बालीनाली खाने र मानिसलाई आक्रमण गर्न थाल्यो । गाउँमा डुल्ने भएकाले विक्रमको पुच्छर समात्न जाँदा चार विद्यार्थी घाइते भएका थिए । २०६७ जेठ तेस्रो साता बाटोमा हिँडिरहेका दुई जनालाई आक्रमण गरेपछि विक्रमलाई नियन्त्रणमा लिइएको हो । आक्रमण गर्दा आँखामा चोट लागेकाले विक्रमले कम देख्ने गरेको निकुञ्जका कर्मचारी बताउँछन् ।
निकुञ्ज मुख्यालयस्थित फराकिलो खुला खोरमा उसलाई राखिएको छ । वरिपरि पर्खाल लगाइएको छ । रेखदेखका लागि दुई जना कर्मचारी खटिएका छन् । गोही र हात्ती हेर्ने चूडामणि चौधरी र रंगीलाल थारूले थुनामा रहेको विक्रमलाई बरान र घाँस दिने गरेका छन् । ‘दिनभर घाँस खान्छ,’ हेरालु चौधरीले भने, ‘ढिलो हुँदा रिसले हिर्काउने प्रयास गर्छ ।’ खोरभित्र आहाल र पिउने पानीको व्यवस्था गरिएको छ । प्रकृति संरक्षण कोषका प्रमुख डा। रविन कडरियाले निकुञ्ज घुम्न आउनेले टाँसिएर फोटो खिच्ने, जिस्काउने गरेकाले आक्रमण गर्ने बानीको विकास भएको बताए ।
सन् १९८६ मा पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियाको कर्णाली नदी तटीय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा गैंडा स्थानान्तरण प्रक्रिया सुरु भएको हो । त्यसपछि ७० वटा गैंडा बबई उपत्यकामा छाडियो । १४ वर्षअघिसम्म बर्दिया राष्ट्रिय निकुञ्ज गैंडा चोरी सिकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सर्वत्र आलोचना खेप्दै आएको थियो । द्वन्द्वकालमा भने चोरी सिकारका कारण बर्दिया निकुञ्जमा गैंडा लोप हुने स्थितिमा पुगेको थियो । चितवनबाट बर्दिया स्थानान्तरण गरिएका ८३ गैंडामध्ये द्वन्द्वकालमा ३६ र प्राकृतिक कारण २४ वटा मारिएको तथ्यांक छ । अहिले बर्दिया निकुञ्जको कर्णाली नदी तटीय क्षेत्रमा २ बच्चासहित ३२ र बबई उपत्यकामा १ बच्चासहित ६ वटा ३८ गैंडा रहेको अनुमान छ । १३ वर्षयता निकुञ्जमा गैंडा चोरी सिकार श्न्यू रहेको प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । ‘विक्रमको हामीले परिवारको सदस्यलाई जस्तै माया गरेर रेखदेख गरिरहेका छौं,’ उनले भने, ‘यसलाई मुक्त गर्दा मानवीय क्षति पुर्‍याउने खतरा रहेकाले ठूलो क्षेत्रमा पर्खालभित्र राखेका हौं ।’ (साभार ः कान्तिपुर)

तपाईको प्रतिक्रिया