मन्त्री बुढाक्षेत्रीले गरे कार्य सम्पादन सम्झौता


सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मन्त्री बुढाक्षेत्रीले चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी सचिवलाई काम गर्न निर्देशन दिँदैे कार्यसम्पादन सम्झौता गरेका हुन ।
सोमबार मन्त्री बुढाक्षेत्रीले कार्यसम्पादन सम्झौतापछि मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीलाई फाइल हस्तान्त्रण गरेका छन् । सम्झौता अनुसार मन्त्रालय मातहतका माहाशाखा प्रमुखहरुसँग पनि सचिव काप्रीले कार्यसम्पादन सम्झौता गरी समयमै योजनाका कामहरु सम्पन्न गर्न निर्देशन दिएका छन् ।
गत आर्थिक बर्षमा सम्झौता अनुसार बजेट कार्यान्वयनमा कमी आएकोले चालु आर्थिक वर्षमा असार महिना अघि नै सबै योजना सम्पन्न हुनेगरी काम गर्ने सम्झौता भएको मन्त्री बुढाक्षेत्रीको भनाई छ ।
गत आर्थिक बर्षमा पनि मुख्यमन्त्रीले ८० प्रतिशत बजेट कार्यान्वयन गरिसक्ने गरी सम्झौता गरेका थिए । तर, प्रदेश सरकारले गत आवमा ६७ प्रतिशत मात्रै रकम खर्च गर्न सफल भएको थियो । प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ ।
सोही अनुसार चालु आर्थिक वर्षमा असार महिना नलाग्दै सबै योजनाको काम सक्ने गरी मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालय र मन्त्रालयले कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

तपाईको प्रतिक्रिया