पान्जशिर प्रान्त पनि कब्जा गरेको तालिबानीको दाबी


तालिबानले पान्जशिर उपत्यका पूणर् रुपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । अफगानिस्तानका अरु सबै प्रान्तहरु तालिबानको कब्जामा गए पनि पान्जशिर उपत्यकामा स्थानीय तालिबान विरोधी समूहले सुरक्षा दिइरहेका थिए ।
तर तालिबानले सोमबार पान्जशिरमा पूणर् नियन्त्रण कायम गरेको दाबी गरेको हो । राजधानी काबुलबाट उत्तर तर्फ रहेको उपत्यकामा विगत केही दिन यता भीषण भिडन्त हुँदै आएको छ ।
नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) र स्थानीय लडाकु समूहले तालिबान लडाकुसँग युद्ध गरिरहेका हुन् । तालिबान प्रवक्ताले भनेका छन्, ‘यो जितसँगै हाम्रो देश पूणर् रुपमा युद्धको दलदलबाट बाहिरिएको छ ।’
तर एनआरएफले भने तालिबानको दाबी अस्वीकार गरेको छ । एनआरएफका प्रवक्ता अली माइसमले बिबिसीसँग भनेका छन्, ‘पान्जशिर तालिबानको कब्जामा गएको सत्य होइन । तालिबानको दाबी हामी खारेज गर्छौँ ।’
सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा तालिबान लडाकुहरु पान्जशिर प्रान्तका गभर्नर कार्यालयको अगाडि उभिएको देखिन्छ । तर सो तस्बिरको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । तालिबानले काबुलमा गएको अगस्ट १५ मा नियन्त्रण कायम गरेको थियो ।
तर पान्जशिर भने तालिबानको कब्जामा आएको थिएन । सन् १९८० दशकमा शोभियत युनियन तथा सन् १९९० को दशकमा तालिबानलाई पराजित गरेको पान्जशिर अहिले भने तालिबानको कब्जामा आएको दाबी गरिएको हो ।
एनआरएफका नेता अहमद मसूदले आफू तालिबानसँग वार्ताका लागि तयार रहेको बताएका छन् । उनले शान्ति वार्ताका लागि तयार रहेको उल्लेख गरेका हुन् ।

तपाईको प्रतिक्रिया