निर्वाचन आयोगमा नेपाल समुहको नेकपा एकीकृत पार्टी दर्ता

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
निर्वाचन आयोगले नेपाल समुहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता गरीे कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार दिएको हो ।
निर्वाचन आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा सो पार्टी दर्ता छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए । निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।
राईले भने नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको दावी गरे । उनले भने, ‘अहिले कसैसँग सल्लाह गरिएको होइन तर पछि त जोसुकै नेता पनि आउन सक्नुहुन्छ नि । यो वा ऊ भन्ने कुरै छैन ।’
संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियूको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् । महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियूबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियू चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।

तपाईको प्रतिक्रिया