कोरोनाबाट मृत्यु भएकाका परिवारलाई गाउँपालिकाले ५० हजार दिने

 दैलेख । जिल्लाको महाबु गाउँपालिकाले कोरोना सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई ५० हजार रुपैयाँ दिने भएको छ। मृतकका परिवारलाई दाहसंस्कार खर्च र क्रिया खर्च गरी यो रकम राहतस्वरूप दिने भएको हो।

गाउँपालिकाले स्थानीय नागरिकको निःशुल्क कोरोना परीक्षणसँगै उपचार गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले बताए।

कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पाँच बेडको अक्सिजनसहित २५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश कुमार दशौँदीले जानकारी दिए।

कोरोनाको नयाँ भेरियन्ट फैलिएयता महाबु गाउँपालिकामा हालसम्म ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको दशौँदीले बताए। यसअघि कर्णाली प्रदेश सरकारले पनि कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ। थाहाखबर

तपाईको प्रतिक्रिया