हुम्ला । नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारिको गाउँ लिमीका तीन वटै गाउँमा बाहिरका मानिसलाई आउजाउमा रोक लागइएको छ । हालसम्म कोरोना संक्रमणबाट सुरक्षित उक्त गाउँ यसलाई यथावत राख्न मानिस प्रवेशमा रोक लगाएको हो ।
जिल्लामा निषेधाज्ञा जारी भएको १७ दिनपछि हिमालपारिको गाउँ लिमीले कोरोना सङ्क्रमणको त्रास भन्दै लिमीका तीन वटै गाउँमा बाहिरका मानिसलाई प्रवेश निषेध गरेको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
हालसम्म कोरोना सङ्क्रमणका हिसावले ग्रीनजोन उक्त गाउँमा यसलाई बचाई राख्न बाहिरका मानिस प्रवेशमा रोक लगाइएको उहाँले बताउनुभयो । लिमीका गाउँका मानिस कतै नजाने र बाहिरका मानिस मात्र गाउँमा भित्रिएपछि कोरोना भित्रिने डर हुँदा बेलैमा अन्य मानिस प्रवेशमा रोक लगाएपछि कोरोनावाट सुरक्षित रहन सहज हुने निष्कर्ष तीन गाउँले सामूहिक निणर्य गरेका थिए ।
लिमी प्रवेशका लागि चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा हाल हिउँ जमेको कारण आवतजावत बन्द छ । तर पनि जेठ महिना लागेको कारण कोही मानिस लिमी प्रवेश गर्ने सम्भावना रहेको कारण पूर्व जानकारी गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो ।
गाउँकै मानिस बाहिरबाट गाउँ प्रबेशमा समेत रोक लगाइएको छ । यति गर्न सके लिमीका तीन वटै गाउँलाई कोरोना सङ्क्रमणबाट सुरक्षित राख्न सकिने उनले बताए ।



दर्शन खबर । ७ जेष्ठ २०७८, शुक्रबार