बागचौरमा २५ शैयाको आइसोलेसन संचालन

सल्यान । बागचौर नगरपालिकाले २५ शैयाको अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा आएको छ। कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न नगरपालिकाले आफ्नै नयाँ भवनमा आइसोलेसन निमाणर् गरेको हो।

आइसोलेसनमा ३८ वटा ठूला अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिने मेयर लोकमान बुढाथोकीले बताए। अहिले ८ वटा सिलिन्डर सञ्चालनमा ल्याएको र बाँकी आउँदै गरेको उनको भनाई छ।

नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा २० वटा अक्सिजन सिलिन्डर आफ्नो व्यक्तिगत रुपमा उपलब्ध गराउने समेत मेयर बुढाथोकीले बताए। अहिले ८ वटा सिलिन्डर आइसकेको र बाँकी १२ वटा सिलिन्डर आउँदै गरेको उनको भनाई छ।

आफूले पाउने तलब सामाजिक काममा लगाउने बताउँदै आएका बुढाथोकीले यस अघि कोरोना रोकथाम तथा उद्धार कोषमा चार लाख ५० हजार जम्मा गरेको बताएका छन्। हालसम्म कोरोनाबाट सबैभन्दा धेरै बागचौर नगरपालिकाका नागरिकको मृत्यु भएको छ।

यस्तै मेयरले ६० हजार पिस सर्जिकल मास्क र तीन सय पिस एन ९५ मास्क खरिद गरेको बताएका छन्। बागचौर नगरपालिकालाई ४१ हजार २ सय ५० पिस मास्क, १ हजार सात सय २८ पिस साबुन र स्यानिटाइजर उपलब्ध गराएको बताएका छन्।

अन्य मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई कोरोनाको समयमा अग्रभागमा रहेर काम गर्नेलाई प्रदान गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया