सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड-१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ । यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो ।
शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न झन्झट बेहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरुबाट आएपछि अब उप्रान्त प्रदेश अस्पताल आफैँले मट्टितेल, कैँची, डोरी, प्लाष्टिकलगायतका आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निणर्य गरेको अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिनुभयो ।
आफ्ना प्रियजनको मृत्युले दुःखमा रहेका परिवार तथा आफन्तजनले निषेधाज्ञाको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु त्यत्तिकै चुनौतीपूर्ण भएकाले अस्पताल व्यवस्थापनले निःशुल्क उपलब्ध गराउने सूचना जारी गरेको छ । अब कोरोना सङ्क्रमणबाट आफन्त गुमाएर शोकमा डुबेका र आर्थिक अभाव भएका परिवारलाई राहत मिल्ने बताइएको छ ।



दर्शन खबर । ४ जेष्ठ २०७८, मंगलवार