चालु आवमा ३९ सवारी दुर्घटना

लक्ष्यबहादुर सुनार
सुर्खेत ।
चालु आर्थिक बर्षको सुरुदेखि हालसम्म सुर्खेत जिल्लामा ३९ सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परी १ सय ३९ जना घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । १८ महिला र ६ पुरुष गरी २४ जनाले ज्यान गुमाएका छन । यो अवधिमा ९५ पुरुष र ४४ महिला गरी १ सय ३९ जना घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र युएनडिपीद्धारा बुधवार वीरेन्द्रनगरमा आयोजित सडक सुरक्षा अभियान कार्यक्रममा ट्राफिक प्रहरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरिबहादुर विसीले प्रदेश राजधानी भएसंगै सुर्खेतमा सवारी चाप बढेको र दुर्घटनाको दर पनि बढेको बताए । उनका अनुसार क्षमताभन्दा धेरै यात्रु राख्ने र चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी चलाउदा दुर्घटना बढेको हो । अघिल्लो आर्थिक बर्षको तुलनामा यो आवमा दुर्घटनाको दर केही घटेको उनको भनाई छ ।
अघिल्लो आर्थिक बर्षमा ४१ दुर्घटना भएका थिए । सो दुर्घटनामा २१ महिला र १४ पुरुष गरी ३५ जनाले ज्यान गुमाएका थिए । अघिल्लो बर्षको तथ्यांकलाई हेर्दा यो दर घटेको देखिन्छ । यद्यपि चालु आव सकिन अझै केहि समय बाँकी छ ।
प्रहरी निरिक्षक विसीका अनुसार सुर्खेतका ९ वटा स्थानलाई अति दुर्घटना हुने स्थानको रुपमा पहिचान गरिएको छ । बढी दुर्घटना हुनेमा हर्रे, सत्तरी, ब्युरेनी, तिनकुनेचोक, खजुरा रहेका छन । यस्तै धरमशाला चोक, कुमाईचोक, चिंगाड, र हुड्के रहेका छन । ती स्थानहरुमा विशेष निगरानी गरिएको विसीको भनाई छ ।
सीमित स्रोत र साधनका विचमापनि दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको उनले बताए । यो आवमा कार्यालयले सवारी दुर्घटना न्युनिकरण गर्न सुर्खेतका विभिन्न स्थानमा ४ सय ९१ वटा सचेतनामुलक कार्यक्रम गरिएको र जसबाट २६ हजार ६ सय १६ नागरिक लाभान्वित भएको विसीले जानकारी दिए ।
१ करोड २७ लाख राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चालु आवको हालसम्म विभिन्न सवारी जरिवानाबाट १ करोड २७ लाख ४४ हजार रकम संकलन गरिएको जनाएको छ ।
प्रहरीको तथ्यांक अनुसार बैशाख २४ गतेसम्म २१ हजार ४ सय ९१ वटा सवारी कारबाहीमा परेका हुन । कारबाही गरिएका सवारीहरुबाट उठाएको राजस्व १ करोड २७ लाख ४४ हजार रहेको सुर्खेतका ट्राफिक प्रमुख हरिबहादुर विसीले जानकारी दिए ।
उनका अनुसार ६ सय ४ जना अत्यधिक मापसे गरेर सवारी चलाएका फेला परेको बताउदै ती ६ सय ४ जना जुनसुकै बेला पनि दुर्घटनामा पर्ने प्रकृतिका भेटिएको र प्रहरीले तत्कालै कारबाही गरी जरिवाना संकलन गरेको उनको भनाई थियो ।
सवारी जरिवानाको रकम संकलनलाई हेर्ने हो भने अघिल्लो आवको भन्दा यो आवमा धेरै सवारी साधन रहेका छन । अघिल्लो आवमा १४ हजार ९ सय ९४ सवारी कारबाहीमा परेका थिए भने ती कारवाही गरिएकाबाट ८७ लाख ८९ हजार राजस्व संकलन भएको थियो ।
वीरेन्द्रनगर हर्न निषेधित
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रभित्र अब कुनैपनि सवारी साधनले हर्न बजाउने नपाउने भएका छन ।
जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतको सडक सुरक्षा अभियान अन्र्तगत मंगलवारदेखि लागु हुनेगरी कुनैपनि सवारी साधनलाई हर्न निषेध गरेको छ । साथै मोटरसाईकलको पछाडि बस्ने व्यक्तिलेपनि अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी र सुर्खेतका प्रहरी प्रवक्ता एवम डिएसपी प्रदिपबहादुर क्षेत्री र केहि सवारी चालकहरुले हर्न निषेधको सांकेतिक वोर्ड देखाएर हर्न निषेध गरिएको घोषणा गरेका छन ।
कार्यक्रममा बोल्दै ट्राफिक प्रमुख हरिवहादुर विसीले अत्याधिक हर्नका कारण ध्वनी प्रदुषण भएको र जसका कारण विभिन्न रोगहरु लाग्ने खतरा बढेको तर्फ संकेत गर्दै हर्न निषेध गरिएको बताए ।
उनले आफु अगाडिको सवारीलाई संकेत दिनेभए विस्तारै सवारी चलाउनुपर्ने भन्दै कोहि कसैले पनि हर्र्न बजाएको भेटाए कारबाही गरिने बताए । साथै उनले मोटरसाईकल दुर्घटनामा हुदाँ सुरक्षा हुने भन्दै पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने बताए । ६ महिनासम्म पछाडि बस्नेहरुलाई पनि हेलमेट लगाउन सचेतना गर्ने र ६ महिनासम्म पनि कार्यान्वयन नभए कारबाहीको शुरु गर्ने बताए ।
अबदेखि १ महिनासम्म सवारी चालकहरुले फ्लोरेन्स ज्याकेट अनिवार्य लगाउनुपर्ने ट्राफिक प्रहरीले सचेत गराएको छ ।
सुर्खेतमा २० हजार ५१ सवारी संञ्चालनमा
सुर्खेत जिल्लामा हाल २० हजार १ सय ५१ सवारी साधन सञ्चालनमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । सुर्खेतमा कति सवारी छन भन्ने तथ्यांक राख्ने कुनै निकाय नभएपनि आफुहरुले मेहनत गरेर उक्त रेकर्ड राखेको उनले बताए ।
१ ट्राफिक प्रहरीको भागमा ४ सय १९ सवारी साधन भाग पर्ने उनले बताए सुर्खेतमा जम्मा ४ सय ७५ किलोमिटर कच्ची, पक्की र ग्राभेल सडक रहेको जानकारी दिदै १ टाफिक प्रहरीले २३ किलोमिटर सम्मको दुरी हेर्नु पर्ने समेत जानकारी गराए ।

तपाईको प्रतिक्रिया