एमाले अध्यक्ष ओली पुनःप्रधानमन्त्रीमा नियुक्त

काठमाडौं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ आज (शुक्रबार) अपरान्ह हुनेछ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएको थियो ।

वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएका छन् । जनता समाजवादी पार्टी -जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएन ।

बहुमत नपुग्ने भएपछि कांग्रेस-माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन ।

त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दललाई सरकार गठनको अवसर दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।


तपाईको प्रतिक्रिया