काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई सक्दो छिटो खोप पाउने वातावरण मिलाइदिन नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलाई आग्रह गर्नुभएको छ ।
आज राजदूतसँग टेलिफोनमा कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले कोराना भाइरसको तीव्र फैलावट रोक्न अमेरिकी सरकारबाट खोप सहयोग चाहेको बताउनुभयो ।
त्यस्तै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पतालका लागि आवश्यक पूर्वाधारको पनि सहयोग आशा गरेको पोखरेलले बताएका उहाँको सचिवालयले जनाएको छ ।
जवाफमा अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्री सहयोग गरिने जानकारी दिनुभयो । तर उहाँले के के सामग्री सहयोग गर्ने भन्नेबारे आइतबार मात्र टुंगो लाग्ने बताउनुभयो ।
अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो ।



दर्शन खबर । ३० बैशाख २०७८, बिहीबार