जुम्लाका गाउँगाउँमा सहकारी मार्फत चामल वितरण

जुम्ला । नेपाल खाद्य संस्थानले जुम्लामा सहकारी संस्थामार्फत गाउँमै चामल बिक्री गर्न सुरु गरेको छ । गाउँघरमै चामल खरिद गर्न पाएपछि दुर्गमका बासिन्दालाई सहज भएको छ ।
खाद्य संस्थान यसअघि सदरमुकाममा चामल बिक्री गर्दै आएको थियो । उपभोक्तालाई सहज हुने गरी सहकारी संस्थामार्फत गाउँमै बिक्री गर्न थालिएको खाद्य संस्थान शाखा जुम्लाका प्रमुख तिलक सुनारले बताए । खाद्य संस्थान सञ्चालक समितिले गत २६ फागुनमा सहकारीमार्फत खाद्यान्न बिक्री गर्ने निर्णय गरेको थियो ।
सञ्चालक समितिको निर्णयअनुसार, गाउँघरमै बिक्री गर्न सजिलो भएको उनले बताए ।
खाद्य संस्थान जुम्लाले विभिन्न सहकारी संस्थासँग सम्झौता गरेर खाद्यान्न विक्रेता तोकेको छ ।
तिनै सहकारी संस्थाले अहिले गाउँमै लगेर चामल बिक्री गरिरहेको खाद्य संस्थानका प्रमुख सुनारले बताए ।
खाद्य संस्थानले तिला गाउँपालिकाको कुडारी र रारालिही गाउँपालिकामा चामल बिक्रीका लागि कालिका सहकारी संस्थासँग सम्झौता गरेको छ । त्यस्तै, कनकासुन्दरी गाउँपालिकाको गोठीज्युलामा चामल बिक्री गर्न हिउँचुली सहकारी संस्थालाई जिम्मा दिएको खाद्य संस्थानले जनाएको छ ।
जिल्लाका अन्य गाउँपालिकामा पनि चामल बिक्रीका लागि पनि सहकारी संस्थासँग सम्झौता गर्ने तयारी गरेको छ । चामल बिक्री गर्न जिल्लाका नौवटा सहकारी संस्था सम्झौताका लागि छनोट भएको खाद्य संस्थानका प्रमुख सुनारले बताए । सहकारी संस्थाले खाद्य संस्थानलाई अग्रिम भुक्तानी गर्नेछन् ।
उनीहरूले खाद्य संस्थानले तोकेकै मूल्यमा चामल बिक्री गर्नुपर्नेछ । त्यसबापत सहकारी संस्थाले कमिसन पाउनेछन् ।
प्रतिकेजी ५० रुपैयाँसम्म मूल्य भएको खाद्यान्न बिक्रीमा सात प्रतिशत र त्यसभन्दा महँगो मूल्य भएको खाद्यान्न बिक्रीमा ६ प्रतिशतका दरले कमिसन दिइने जनाएको छ ।

तपाईको प्रतिक्रिया