एमयूका विद्यार्थी आन्दोलित


सुर्खेत, २७, पौष ।
आईतवार साँझ मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग ईन्जिनियरिङ्ग संकायका विद्यार्थीको रिटेक परीक्षाको विषयमा छलफलका क्रममा विवाद हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले छोडेको आश्रु ग्यासबाट विद्यार्थी घाइते भएका हुन् । घाईते हुनेमा रोशन बस्नेत, तर्कराज शाही र लक्षमण वोगटी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत विद्यार्थीवीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन तीन राउण्ड आश्रु ग्यास फायर गरिएको बताए । उनका अनुसार घाइते विद्यार्थीको स्थानीय माया नर्सिङ्ग होममा उपचार भईरहेको छ ।
यसअघि विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले पुस २४ गते रिटेक परीक्षा को व्यवस्था खारेज गरिएको सूचना प्रकासित गरेपछि ईन्जिनियरिङ्ग संकायका विद्यार्थी आन्दोलित भएका हुन् ।
कोरोना महामारीको बहाना बनाउँदै विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले रिटेक परीक्षाको व्यवस्था खारेज हुँदा ईन्जिनियरिङ्ग संकायका करिब चार सय विद्यार्थी प्रत्यक्ष प्रभावित हुने हुँदा आन्दोलित हुनु परेको आठौं सेमेस्टरका छात्र रामचन्द्र भण्डारीले बताए ।
उनले विश्वविद्यालयमा ईन्जिनियरिङ्गको पढाई शुरु भएदेखि नै रिटेक परीक्षा हुँदै आएकाले कोरोना प्रभावित रिटेक परीक्षा कम्तीमा एकपल्टका लागि भएपनि सञ्चालन नगरिए चरणबद्ध आन्दोलन गरिने जनाए ।
यता विश्वविद्यालयका रजिष्टार नारायण पौडेलले भने रिटेक परीक्षा खारेज बारे कुनै योजना नबनाईएको बताए । उनका अनुसार परीक्षाको आवश्यकता एवं महत्वलाई ध्यानमा राखेर रिटेक परीक्षा सञ्चालन गरिनेछ ।

तपाईको प्रतिक्रिया