सिम्ताका अधिकांश पसल दर्ता नगरी सञ्चालनमा

युवराज पंगाली । सुर्खेत । सिम्ता गाउँपालिकाका अधिकांश पसलहरु दर्ता विना नै सञ्चालन गरिएको पाईएको छ । जिल्ला संयुक्त बजार अनुगमन समिति सुर्खेतले बुधबार जामुने बजारमा गरेको अनुगमनका क्रममा ६० मध्ये ५५ वटा पसल दर्ता विना नै सञ्चालनमा रहेको पाईएकोे हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीसम्शेर रानाले अनुगमनको क्रममा अधिकांस पसल कुनैपनि निकायमा दर्ता विना नै सञ्चालनमा रहेको पाईएको बताए । उनले पाँच वटा पसल मात्र वाणिज्य कार्यालय लगायतमा दर्ता भएको पाईएपनि स्थानीय तहमा भने कुनैपनि पसल दर्ता नरहेको पाईएको जनाए । उनका अनुसार ती पसलहरुलाई १५ दिनदेखि एक महिनाभित्रै वाणिज्य कार्यालयसँगै स्थानीय तहको कार्यालयमा दर्ता हुन पसल सञ्चालकलाई निर्देशन दिईएको छ ।


‘जिल्ला संयुक्त बजार अनुगमन टोलीले जिल्लाका सबै व्यापारीक केन्द्रका बजारहरुमा अनुगमनलाई तीव्रता दिएको छ । ‘गाउँमा धेरैजसो समान म्याद गुज्रिने अवस्थामा रहेको पाइएको र त्यस्ता सामानलाई समय अगावै विक्रीवितरण गरिसक्न बिक्रेतालाई सुझाव दिईएको रानाले जानकारी दिएं ।’ उनले दशैं तिहारजस्ता चाडपर्व नजिकिएसँगै व्यवसायीले झुक्याउने र उपभोक्ता ठगिन सक्ने जोखिमलाई सबै मिलेर रोक्नु पर्नेमा जोड दिए । उनका अनुसार दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अनियमितता रोक्न प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ ।

उनले बजारमा कालोबजारी, मूल्यवृद्धि नियन्त्रण, विक्री वितरणमा सहजता ल्याउँदै सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइएको जनाए । ‘चाडपर्वका लागि लक्षित गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास मौज्जात समेतको विवरण संकलन गरिने उनको भनाई रहेको छ । ‘पर्याप्त मात्रामा पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास मौज्दातलगायतको विवरण समेत राखिने छ ।’ उनले स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा जिल्लाका सबै बजारहरुको अनुगमन गरिरहेको जनाए । अनुगमनलाई थप प्रभावकारी बनाउन स्थानीय तहलाई निरन्तर बजार अनुगमन बढाउन सुझाव दिईएको उनको भनाइ छ । यता सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले बजार अनुगमनलाई निरन्तरता दिएर उपभोक्ताको हक, हित र अधिकारलाई सुरक्षित गराउने तर्फ गाउँपालिका प्रयासरत रहेको जनाईन । उनका अनुसार दर्ता पसललाई छिट्टै कानूनी दायरा भित्र ल्याई बजार व्यवस्थापन गरिनेछ ।
बुधबार सिम्ताको जामुने बजारमा गरिएको अनुगमनका जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रानासँगै सिम्ता गाउँपालिकाका उपाध्यक्ष शाही, राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयक, ईलाका प्रहरी कार्यालय बाँदेपिपलका प्रमुख प्रहरी नायव निरीक्षक मोहनलाल कुमाई, सिम्ता गाउँपालिकाका योजना प्रमुख अर्जुन रानालगायतको सहभागिता रहेको थियो ।

यता राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य कुमारी भुसालले दशैं तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई कडाई गरिनुपर्नेमा जोड दिईन् । उनले दैनिक उपभोग्य वस्तुमा देखिने अनियमितता, मिसावट एवं म्याद गुज्रेका वस्तुले उपभोक्ताहरुको स्वास्थ्यमा नराम्रो असर पार्ने भएकाले प्रशासनका सबै निकाय परिचालन गरिनु पर्ने बताईन् ।


तपाईको प्रतिक्रिया