काठमाडौं, १२ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाल र जिल्ला प्रहरी प्रमुख श्यामलाल ज्ञवालीविरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।
शान्तिपूर्ण प्रर्दशनका क्रममा बल प्रयोग गरेको र पक्राउ परेकालाई बिनाकारण बन्दी बनाइरहेको भन्दै डाक्टर गोविन्द केसीका समर्थकले उजुरी दर्ता गराएका हुन् । आयोगमा सोमबार उनीहरुले उजुरी गरेका हुन् ।
प्रितम सुवेदी, पुकार बम, सचिन तिमल्सिनालगायतले सोमबार आयोगमा उजुरी दर्ता गरेका हुन्। शनिबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनको कार्यक्रममा प्रहरीले भेला भए लगत्तै नियन्त्रणमा लिएर बलजफ्ती गरी गाडीमा राखेको थियो। सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन नगरी पक्राउ गरेको र पक्राउ परेकालाई बन्दी बनाइराखेको उनीहरुको उजुरीमा उल्लेख छ ।
बिनाहातहतियार भेला हुन पाउने संविधानको अधिकार र व्यक्तिको मानव अधिकार खोस्ने अधिकार सिडियोलाई नभएको उनीहरुको उजुरीमा उल्लेख छ । मानव अधिकार हननमा संलग्न दाहाल र ज्ञवालीलाई कारबाही गर्न उनीहरुको उजुरीमा माग गरिएको छ ।


दर्शन खबर । १२ आश्विन २०७७, सोमबार