
सुर्खेत, ३२ साउन । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेत यस बर्षको कर्णाली प्रदेश स्तरिय उत्कृष्ट संस्था भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले यस बर्ष वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ मा रहेको जनकल्याण साकोसलाई कर्णाली प्रदेशका उत्कृष्ट संस्था भएको जानकारी दिएको हो ।
नेफ्स्कुनको २०७७ श्रावण ३२ गते सम्पन्न भएको ३३ औँ स्थापना दिवसको अवसरमा नेफ्स्कुनले यस्तो जानकारी दिएको हो । नेफ्स्कुनले विभिन्न विधामा उत्कृष्ट हुने सहकारीहरुलाई पुरस्कृत गर्ने गरेको छ ।
जनकल्याण साकोस २०५२ सालमा स्थापना भई निरन्तर सदस्यहरुलाई वित्तिय सेवा प्रवाह गरिरहेको छ । गतबर्ष जिल्ला स्तरिय उत्कृष्ट साकोस घोषणा भएको जनकल्याण साकोसले यस बर्ष भने कर्णाली प्रदेशमा नै उत्कृष्ट हुन सफल भएको छ । कुल पुँजी १६ करोड र २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण साकोसको कार्यक्षेत्र वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका रहेको छ । पछिल्लो समय संस्थाको समग्र वृद्धि विकास र सदस्य केन्द्रित सेवाले नै संस्थाले उत्कृष्टता हासिल गरेको संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले बताए । व्यवस्थापक न्यौपानेले भने ( “हामिले पछिल्लो समय सदस्य सेवालाई विशेष ध्यान दिएका छौँ, नयाँ प्रविधिको अवलम्बन गर्दै सहकारी क्षेत्रको सुधारका लागि आवश्यक सबै मापदण्डहरु पुरा गरेका छौँ । यसले गर्दा सदस्यहरुको विश्वास बढेको छ भने सँगसँगै संस्थाको कुल पुँजीमा समेत वृद्धि भएको छ ।“ संस्थाले वित्तिय सेवाका अतिरिक्त एस.एम.एस., मोबाइल बैंकिङ र रेमिट्यान्स सेवा समेत उपलब्ध गराएको छ ।
नेफ्स्कुनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायीक साकोस विकास कार्यक्रम (PROBATION) कार्यक्रममा आवद्ध भए पश्चात संस्थाको विकासले गति लिएको संस्थाका अध्यक्ष महेन्द्र प्रसाद शर्माले बताए । अध्यक्ष महेन्द्र प्रसाद शर्माले भने ( “प्रोवेशन कार्यक्रमले संस्थाको वित्तिय सूचकहरु सुधार गर्छ, संस्थालाई व्यवस्थित र सुशासन कायम गरि दिर्घकालसम्म स्वस्थ रुपमा सञ्चालन गर्न सहयोग गर्छ ।“ कोभिड (१९ को सामना गर्न संस्थाले स्थानीय तहलाई रु. २ लाख नगद सहयोग समेत गरेको छ । सामाजिक उत्तरदायित्व सहितको वित्तिय सेवा दिईरहेको जनकल्याण साकोसको ध्यये समुदायको उत्कृष्ट वित्तिय र व्यवसायिक साकोस रहेको छ । संस्थाले निकट भविष्यमा नै नेपाल स्तरको ब्राण्डिङ कार्यक्रम प्रोवेशन को ब्राण्ड प्राप्त गरि नेपाल कै गुणस्तर चिन्ह प्राप्त बचत तथा ऋण सहकारीको रुपमा आफुलाई चिनाउने अध्यक्ष शर्माले बताएका छन् ।


दर्शन खबर । ३२ श्रावण २०७७, आईतवार