प्रतिमा परियार
हेरक वर्ष निजी, सरकारी तथा गैरसरकारी संघ–संस्था र निकायले बृक्षारोपणका कार्यक्रम गरिरहेका हुन्छन् । विभिन्न दिवसको अवसर पारेर तथा अभियानकै रूपमा समेत वृक्षारोपण गरिँदै आएको छ ।
प्रत्येक वर्ष वन डिभिजन कार्यालयहरूले वृक्षारोपणका लागि लाखौं बिरुवा वितरण गर्छन् । ती बिरुवा वनक्षेत्रमा रोपिन्छ पनि । तर, यसरी रोपिने बिरुवा कति बाँचे र कति मरे भन्ने एकिन तथ्याङ्क भने कुनै निकायले राख्दैनन ।
बिरुवा रोप्नेहरू बढ्दै गए पनि संरक्षणमा भने कसैको ध्यान पुगेको पाइँदैन । हरेक वर्ष एउटै स्थानमा वृक्षारोपण गरिनु र त्यहाँ बुट्यान क्षेत्र नबढ्नुले यसरी गरिने वृक्षारोपण औचित्यहीन भएको पुष्टि गर्छ ।
डिभिजन वन कार्यालय सुर्खेतले यो पटक मात्रै दुई लाख १३ हजार दुई सय १० बिरुवा वितरण गरेको छ । कार्यालय प्रमुख गोविन्दप्रसाद दहालका अनुसार यी बिरुवा रोप्नका निजी तथा सार्वजनिक निकायहरूलाई वितरण गरिएका हुन् । वन उपभोक्ता समितिहरूलाई एक लाख १५ हजार, निजी जग्गा तथा फर्मलाई ९३ हजार दुई सय १० र राष्ट्रिय वनलाई पाँच हजार विभिन्न जातका बिरुवा दिइएको हो । जसमध्ये जडिबुटीका एक लाख, फलफूलका ३३ हजार दुई सय १० र ८० हजार अन्य प्रजातिका बिरुवा वितरण गरिएको छ ।
कार्यालय प्रमुख दहालले वृक्षारोपण गरिएकामध्ये ७० प्रतिशत बिरुवा बाँचे पनि ठूलो उपलब्धि हुने बताए । ‘ठ्याक्कै यति बिरुवा बाँचे भन्ने तथ्याङ्क निकाल्न गाह्रो भए पनि रोपेका बिरुवामध्ये आधा बिरुवा पनि मुस्किलले बाँच्ने गरेको पाइएको उनले बताए । वन विज्ञहरूका अनुसार बिरुवा संरक्षणमा उमार्दादेखि नै प्राविधिक कुरामा ध्यान दिनुपर्छ । उपयुक्त स्थान, रोप्ने तरिका र वस्तुभाउबाट समेत बचाउनुपर्ने हुन्छ ।
लायन्स क्लब सुर्खेतले केही वर्षयता यो सिजनमा हरेक पटक पाँच सय भन्दा बढी बिरुवा रोप्ने गरेको छ । क्लबका जोन चियर पर्सन भद्र भण्डारीले रोपिएका कति बिरुवा बाँचे भन्ने एकिन जानकारी भने नराख्ने गरेको बताए । उनले भन्छन् ‘मल, पानी र गोडमेल तथा चरीचरनमा समेत रोक लगाउन सकेको खण्डमा अधिकांश बिरुवा बचाउन सकिन्छ ।’ वृक्षारोपण गरिएका बिरुवा संरक्षणमा सरकारी क्षेत्रबाट पहल हुनुपर्ने उनले बताए ।
यस्तै, काँक्रेविहार संरक्षण समितिले यो पटक काँक्रेविहार क्षेत्रमा दुई हजार बिरुवा रोपेको अध्यक्ष तारा रास्कोटीले जानकारी दिइन । उनले यसैगरी हरेक वर्ष लगाएका बिरुवा आधा पनि नबाँच्ने गरेको बताइन । रोपेका बिरुवाको संरक्षणमा भने सम्बन्धित निकायहरूको ध्यान नपुगेको उनले बताउँछिन ।



दर्शन खबर । ३२ श्रावण २०७७, आईतवार