पहिले बाँझो, अहिले लटरम्म तरकारी रानिबासमा

सुर्खेत । चिङ्गाड गाउँपालिका–२ की ३९ वर्षीया लली जैसीको दिन खानेपानीको जोहो गर्दै बित्थ्यो । ‘घरनजिकै खानेपानी थिएन, गाउँका सबैले दुई घण्टा टाढाको खोलाबाट बोकेर ल्याउँथ्यौं’, उनले भनिन्, ‘दिनभर परिवारका लागि र पशुको लागि पानी बोक्दै मेरा दिन बिते ।’
जैसी मात्रै नभई गाउँका सबै त्यही खोलामा पालो लागेर पानीको जोहो गर्थे । सुख्खा मौसममा गिठेनीका स्थानीयलाई खानेपानीको हाहाकार नै हुन्थ्या े। तर खानेपानीको त्यो दुःख अहिले हराएको छ ।
ललीको मात्रै होइन, बस्तीकै जीवनशैली फेरिएको छ ।
अहिले आँगनमै पानीको धारा निर्माण भएका छन् । २४सै घण्टा धारामा पानी आउँछ। यसअघि पानीको अभावमा बाँझो रहेका खेतबारी पनि अहिले व्यावसायिक तरकारी खेतीले हरियो देखिन थालेका छन् ।
झुपा खत्रीले भनिन् ‘आँगनमा धारा बनेपछि पानी बोक्ने समय बचत भएको छ । विगतका ती दुःखबाट मुक्ति मिलेको छ ।’
पानी अभावका कारण सुख्खा देखिने गाउँमा सिँचाइ सुविधा पुगेको छ ।
धाराबाट बगेको पानी करेसाबारीमा उपयोग हुन्छ। नुहाउँदा, कपडा धुँदा, भाडा माझ्दाजस्ता दैनिक काम गर्दा धाराबाट बगेको पानीसमेत उपयोगी बनेको छ । गाउँपालिकाले गिठेनीका लागि खानेपानी गाउँसम्म पु¥याएको हो ।
गाउँपालिकासँग भएको पाँच लाख र स्थानीय गैरसरकारी संस्था सुन्दर नेपालको पाँच लाखका साथै नौ लाख ९६ हजार बराबरको जन श्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको हो ।
एक छाक खाना पकाउने पानीका लागि हाहाकार मच्चिने गिठेनीमा खानेपानी आएपछि अधिकांश स्थानीय नागरिक व्यावसायिक किसानका रूपमा बदलिएका छन्। झन्डै साढे दुई किलोमिटर टाढाबाट गाउँमा खानेपानी पु¥याइएको छ । खानेपानीबाट ३३ घरपरिवार लाभान्वित भएका हुन्। समुदायमा ११ वटा खानेपानी, चारवटा सिँचाइका धारा जडान गरिएका छन्। घरनजिकै धारामा पानी आउन थालेपछि तरकारी खेतीबाट किसानले आम्दानीसमेत गर्न थालेका छन् ।
‘मौसमअनुसार तरकारी खेती गर्न थालेको छौं, तरकारीबाटै घरखर्चसमेत चलेको छ’, खत्रीले खुसी हुँदै भनिन् ‘धारा बनेपछि थुप्रै फाइदा भएका छन् । पहिले खानेपानी नै हुन्थेन, हिजोआज तरकारी खेती गर्नसमेत पुगेको छ ।’
सिंगो बस्तीमै तरकारी खेती फस्टाएको छ। पहल परियोजनाले प्लास्टिक पानी पोखरी निर्माण गरिदिएको छ। जसको सहायताले तरकारी खेतीमा सिँचाइ सुविधा पुगेको हो ।

(अन्नपुर्ण पाेष्ट बाट साभार)

तपाईको प्रतिक्रिया