
सुर्खेत ।
वर्षा सुरु भएसँगै हिउँ पग्लन थालेपछि हिमपहिरो जान सक्ने भन्दै हुम्लाकोे नाम्खा गाउँपालिका–६, हल्जीगाउँका स्थानीयले पालो लगाएर पहरा दिन थालेका छन् ।
गत वर्ष हिमालपारीको बस्ती मानिने लिमीमा अत्यधिक हिमपात भएको थियो । लामो समयसम्म पनि हिउँ नबिलाउँदा गाउँ जोखिममा परेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘वर्षा सुरु भएपछि हिउँ पग्लन थालेको छ,’ उनले भने, ‘गाउँ माथिबाट हिमपहिरो खस्ने डरले स्थानीयबासी त्रसित बनेका छन् ।’
पानी पर्दा पहिरो खस्रुन सक्ने भन्दै स्थानीयले पालो लगाएर पहरा दिन थालेको उनले बताए । उनका अनुसार हल्जीका ९६ घरधुरी हिमपहिरोको उच्च जोखिममा छन् । उनले सामुदायिक विद्यालय पनि पहिरोको जोखिममा परेको जनाए । ‘स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ,’ उनले भने, ‘पहिरो खस्रुन नदिन पूर्वतयारी थालेका छौं ।’
हल्जीगाउँको सिरानमा हिप हिमताल छ । केही वर्षको अन्तरालमा ताल फुट्ने गरेकाले स्थानीयबासी त्रसित बनेको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार ४ वर्षअघि ताल फुट्दा खसेको पहिरोले आधा दर्जन घर र घट्ट बगाएको थियो । हल्जीखोलामा तटबन्ध गर्न सके हिमपहिरोको समस्या समाधान हुने उनी बताउँछन् ।
पहिरोको डरले देउलागैरामा त्रिपाल टाँगेर बसिरहेको स्थानीय धनसुर दमाइले बताए । ‘पहिरोले उठिबास लगायो,’ उनले भने, ‘यसपालिको वर्षामा घर जोगाउन मुस्किल देखियो । सर्केगाड गाउँपालिका–५ स्थित गोठी, साया, मुन्डी, जैर र तुम्चगाउँमा पनि पहिरोले खेतीसहितको जग्गा बगाएको स्थानीयको गुनासो छ ।


दर्शन खबर । ६ श्रावण २०७७, मंगलवार