आज मातातीर्थ औँसी : जन्मदिने आमालाई खुशी राख्ने दिन

सुर्खेत ।

आजको दिन आफ्नो जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।

औंसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ ।

यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा महत्वपूर्ण छ ।

शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ ।

यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ । दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा देशभरका विभिन्न स्थानमा मातातीर्थमा मेला लाग्ने गर्दछ ।

मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । आजका दिन घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा जान आफ्नो जन्मदिने आमालाई खुशी राख्ने लगायतका कामहरु गर्ने गरेको पाईन्छ ।

आजको दिनलाई थप सुमधुर बनाउनका लागि छोराछोरीहरु र सबै परिवारका सदस्य मन्दिर दर्शन गर्न जाने प्रचलन पनि रहेको छ ।

तपाईको प्रतिक्रिया