क्वारेन्टाईनमा बसेका ६२ वर्षीय पुरूषको मृत्यु

रोल्पा, १६ बैशाख । रोल्पामा क्वारेन्टाईनमा बसेको एक जनाको मृत्यु भएको छ ।
रोल्पाको माडी गाउँपालिका वडा नं. २ निवासी ६२ वर्षीय एक जना पुरूषको सोमवार राति ११ बजेतिर मृत्यु भएको हो ।
रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोरोना फोकल पर्सन रामबहादुर केसीले मृतकको स्वाब परीक्षणको लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिए ।
‘स्वाब आज दाङ पठाएका छौं,भोलिसम्म रिपोर्ट आउला,’ केसीले भने ।
उनी वैशाख १२ गते लकडाउन खुकुलु भएको समयमा काठामडौंबाट रोल्पा छोरासँगै आएको जानकारी दिइएको छ ।
उनका छोराले भक्तपुरस्थित कृष्ण इँट्टा भट्टामा काम गर्ने हुँदा दमको समस्याबाट ग्रसित उनका बाबु केही समय पहिला मात्रै उपचार गराउन भन्दै छोरा कहाँ गएको भन्ने खुल्न आएको केसीले बताए ।
‘मेरो विचारमा उहाँको कोरोनाबाट मृत्यु भएको होइन, होला,’ कोरोना फोकल पर्सन केसीले थपे, ‘दमका कारण उहाँको मृत्यु भएको हुनुपर्छ । ’
दमका रोगीलाई चिसोमा झनै समस्या हुने हुँदा चिसोकै कारण उनको मृत्यु भएको हुनसक्ने उनले अनुमान गरे ।
केहीदिन यतादेखि देशका विभिन्न भागमा पानी परिरहेको हुँदा मौसम चिसो भएको छ ।
मृतक व्यक्ति पहिलादेखि नै दमको रोगी भएको भन्ने खुल्न आएको तथा यसअघि क्षयरोग समेत भएको पत्ता लागेको केसीले बताए ।
केसीले अन्त्येष्टिका लागि मंगलबार नै मृतकको शव परिवारका सदस्यलाई लैजान दिने तयारी भइरहेको भन्ने खबर आफूले पाएको जानकारी दिए ।
काठमाडौंबाट फर्केपछि उनका बाबु छोरालाई स्थानीय क्वारेन्टिनमा राखिएको भए पनि छोरालाई समेत घरजान दिने तयारी भइरहेको भन्ने खबर आफूले पाएको सहायक प्रजिअ केसीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया