जिल्ला अस्पताल डोल्पाबाट शल्याक्रिया सुरु


डोल्पा । हिमाली जिल्ला डोल्पामा शल्यक्रिया सेवा सुरु भएपछी सुत्केरी गराउने महिलाको संख्या बढ्न थालेको छ ।
जिल्ला सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले जिल्लामै शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेको हो । शल्याक्रियाको लागि अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ नै नियुक्त गरेको छ । डाक्टरको नियुक्ती भएपछि सुत्केरी गराउने महिलाको संख्या बढेको बताईएको छ । जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्याक्रिया हुन थालेकाले जिल्लाका विकट ठाउँबाट पनि सुत्केरी गराउन आउनेको संख्या बढेको अस्पतालले जानकारी दिएको छ ।
जिल्ला अस्पताल मै शल्यक्रिया हुने भएपछि सुत्केरी गराउनकै लागि नेपालगन्ज, काठमाडौं, सुर्खेत लगायत बाहिरका अस्पताल जानुपर्ने बाध्यता हट्न थालेको हो । मंसिर यता मात्रै जटिल अवस्थाका आठ वटा गर्भवतीको सफल शल्याक्रिया गरिएको प्रसूति तथा स्त्री रोग विशेषज्ञ शंकरप्रसाद राउतले जानकारी दिए ।
आइसियूमा राख्नुपर्ने अवस्थामा मात्रै सुत्केरीको हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको राउतले बताए । ‘पेटमा उल्टो बच्चा भएको, बच्चा खेल्ने पानी सुकेका, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि हुन नसकेकालगायत जटिल प्रकारका शल्याक्रिया पनि सफल रुपमा गरेका छौं,’ डाक्टर राउतले भने ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली नआउँदा दुई वर्षसम्म डोल्पा अस्पतालका सम्पूर्ण शल्याक्रिया सेवा ठप्प भएका थिए । पहिला भन्दा जिल्ला अस्पतालको प्रसूति सेवा धेरै राम्रो हुँदै गएको सुत्केरी गराउन जिल्ला अस्पताल पुगेकी मनिसा रोकायले बताइन् ।
ग्रामीण भेगका महिलामा चेतना बढ्दै गएकाले सुरक्षित सुत्केरी गराउन अस्पताल आउने संख्या बढ्न थालेको डाक्टर मेलिना हमालले बताइन् । चालु आर्थिक वर्षमा मात्रै ७० जना भन्दा बढीको सुरक्षित सुत्केरी र आठ जनाको शल्यक्रियाबाट सुत्केरी गराइएको उनले जानकारी दिइन् ।


तपाईको प्रतिक्रिया