कोरोना नियन्त्रण गर्न सिम्ताबाट सुरु भएको युनिट एक्सन अब प्रदेशभरी


सुर्खेत, २३ चैत । सिम्ता गाउँपालिकाले सुरु गरेको युनिट एक्सन ग्रुपको अवधारणा अव प्रदेशभरी लागु हुने भएको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि युनिट एक्सन ग्रुप नयाँ संरचना र नयाँ अवधारणा लागुहुने भएको हो । सिम्ता गाउँपालिकाले लागु गरेको दुई दिनमा सबै टोल, गाउँ, समुदायमा भारत र तेस्रो देशबाट आएका नागरिकहरुको तथ्याङ्क संकलन गरी सामुदायकै निगरानी गराउन सफल भएको थियो ।
सिम्ताले लागु गरेको एक स्थानीय तहमा तीन वटा संयन्त्र निर्माण गरी कोरोना नियन्त्रण तथा उपचारमा प्रभावकारी हुने देखिएको छ । गाउँपालिका स्तरिय संयन्त्र, वडा स्तरिय संयन्त्र र टोल स्तरिय संयन्त्र निर्माण गरी समुदायनै परिचालन गरेर समुदायमार्फत कोरोना नियन्त्रण तथा उपचार पद्धती लागु गरिने भएको छ । चीन र दक्षिण कोरियाले उक्त पद्धति लागु गरी प्रभावकारी रुपमा कोरोना नियन्त्रण तथा उपचार प्रक्रियालाई सफल बनाएका थिए ।
कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि वडा तथा टोल स्तरमा एकीकृत टोली निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । प्रदेश, जिल्ला, पालिका, वडा र टोलस्तरमा छुट्टा छुट्टै संयन्त्र निर्माण गरेर रोकथाम तथा उपचारमा सहयोग पु¥याइने भएको हो ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले प्रदेश, जिल्ला, पालिका र टोलस्तरमा एकिकृत टोली निर्माण गर्ने र वडास्तरका टोलीहरुलाई प्रभावकारी रुपमा परिचालन व्यवस्था मिलाउन निर्देशन गर्नुभयो ।
वडास्तरका एकिकृत टोलीले सेल्फ क्वारेन्टाईनमा रहे नरहेको अनुगमन गर्ने, एक घरवाट अर्को घरमा हुने आवतजावतलाई कडाई गर्ने, खाद्यान्न वस्तुको अभाव भएका परिवारमा खाद्यान्नको आपुर्ति व्यवस्था मिलाउने संकास्पद विरामीको स्वाव संकलनमा सहयोग गर्ने लगायतका काम गर्नुपर्ने उहाँको भनाई छ ।

अव वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकिकृत टीम तयार गरि रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सिमानाकामाहरुमा हेल्थ डेस्क स्थापना स्वास्थ्य जाँच तथा आवागमनलाई कडाई गरेका कारण अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना भाईरसको संक्रमण नदेखिएको बताउनुभयो ।
विदेशबाट आएका नागरिक, गर्भवती, वालवालिका र ६० वर्ष माथिका नागरिकको स्वास्थ्य अवस्थालाई विशेष निगरानीमा राख्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले संक्रमण शुरु भैहालेमा मृत्यूदरलाई सकेसम्म कम गर्ने तर्फ पनि ध्यान दिन जरुरी रहेको वताउनुभयो ।
 युगन्युजबाट


तपाईको प्रतिक्रिया