आयुर्वेद औषधालयलाई चिकित्सालयका रुपमा विकास गर्न माग, प्रदेशले निर्णय गरे सहयोग गर्छौ : राज्यमन्त्री रावत

सुर्खेत,५ फागुन ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रदेश आयुर्वेद औषधालय सुर्खेतको स्तरोन्नतीका लागि सहयोग गर्ने बताएका छन् ।
सोमबार सुर्खेत वीरेन्द्रनगरमा रहेको औषधालयको अनुगमनगर्दै राज्मन्त्री रावतले आयुर्वेद औषधालयलाई अस्पतालका रुपमा विकास गर्न संघ सरकारले सहयोग गर्ने बताएका हुन् । हरेक प्रदेशमा आयुर्वेद अस्पताल स्थापना गरिने बताउँदै रावतले प्रदेश सरकारले निर्णय गरेर पठाएमा संघ सरकारले सहयोग गर्ने स्पष्ट पारे । ‘अन्य प्रदेशमा पनि आयुर्वेद अस्पताल बन्दैछन’ राज्यमन्त्री रावतले भने,‘यही प्रदेश आयुर्वेद औषधालयलाई नै अस्पतालका रुपमा विकास गर्नेगरी प्रदेश सरकारले निर्णय गर्छ भने त्यसको लागि संघ सरकारले सहयोग गर्छ ।’ प्रदेश मातहतमा रहेकाले आधारभूत कुराहरुको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको र भौतिक निर्माण लगायतका काममा संघले पनि सहयोग गर्ने उनले बताए । अनुगमपछि रावतले सेवा प्रवाह राम्रो रहेको भन्दै अझै आममानिसको आकर्षण बढाउन सेवालाई थप प्रभावकारी र विश्वसनीय बनाउन सुझाव दिए । अहिले आयुर्वेद चिकित्सामा मानिसहरुको आकर्षण बढ्दै गएकाले सरकारले आयुर्वेद क्षेत्रको विकास र विस्तारका लागि सरकारले उचित ध्यान दिएको रावतको भनाइ छ ।
अनुगमनकाक्रममा औषधालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले औषधालयलाई १५ शैय्याको आयुर्वेद चिकित्सालयका रुपमा विकास गर्न राज्यमन्त्री रावत समक्ष माग गरे । उनले व्यवस्थित गर्नका लागि गुरुयोजना बनेको बताउँदै गुरुयोजना अनुसार विकास गर्न करिब ४३ करोड आवश्यक पर्ने भएकाले संघ सरकारको सहयोगको खाँचो रहेको बताए । औषधालयका प्रमुख डाक्टर शंकर रिजालले दैनिक सरदर ५०–६० जनालाई सेवा प्रदान गरिरहेको बताउँदै विरामीको चापअनुसार अस्पतालको विकास गर्नुपर्ने बताए । औषधालयलाई १५ शैय्याको अस्पतालका रुपमा विकास गर्न भौतिक पूर्वाधार निर्माणमा सहयोग सहयोग आवश्यक रहेको रिजालले बताए ।

 


तपाईको प्रतिक्रिया