नेपालमा मानिसमा नै देखियो बर्ड फ्लू, २१ वर्षीय युवकको मृत्यु

काठमाडौं– नेपालमा एक जना व्यक्तिमा ’बर्ड फ्लू’ (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण उक्त व्यक्तिको मृत्यु समेत भइसकेको छ ।
नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अप्रत्यासित घटना भएको संज्ञा दिइन् ।
काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो ।
ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनर्को यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो ।
उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएर्को यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन ।
त्यसपछि उक्त नमूना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमूनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो। नमूनामा बर्ड फ्लू (एच फाइब एन वान) भएको उल्लेख थियो ।
त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो ।
घटनाको जानकारी गराउन आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन ।
सन् १९९६ मा यो भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म विश्वभरि ८६० जना व्यक्तिमा यो भाइरसको संक्रमण भएको पाइएको छ ।
मानिसमा यो भाइरसको संक्रमण हुँदा ८६० मध्ये ४५४ जना करिब आधाजति बिरामीको मृत्यु भएको तथ्यांकले देखाउँछ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार बर्ड फ्लु भनेको एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो ।
यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नया किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ ।

यसरी सर्छ
बर्ड फ्लु संक्रमित पक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ। संक्रमित पक्षीले दस दिनसम्म रोग सार्न सक्ने हुँदा पंक्षीहरु मारेर सुरक्षित ढंगले गाडिन्छ ।
रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ। मासु चालाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ। बसाइ सर्ने चराको शरीरमा बर्ड फ्लुका जीवाणु सुरक्षित रहन्छन् ।
फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लु सर्छ। बर्ड फ्लुका भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने हालसम्म भेटिएको छैन। तर पक्षीबाट मानिसमा भने सर्ने गर्छ। मानिसमा यो रोग लागेको मृत्यु हुने खतरा ६० प्रतिशत रहन्छ ।

बर्ड फ्लुका लक्षण
बर्ड फ्लु संक्रमित पक्षीहरु दस दिनपछि मर्न थाल्छन्। यस्ता पक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ ।

बर्ड फ्लुबाट कसरी बच्ने
– रोगग्रस्त पक्षीबाट जोगिनु नै उत्तम उपाय हो
– कुखुरा लगायत पक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने
– घरपालुवा पशुमा लक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने
– कुखुरा लगायत पक्षीहरुको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने
– संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने

तपाईको प्रतिक्रिया