संकाय छिट्टै सञ्चालनमा आउनेछ : अध्यक्ष बडुवाल


सुर्खेत ।
कर्णाली कृषि तथा वन विज्ञान संकायका अध्यक्ष मोहन बडुवालले कर्णाली कृषि तथा वन विज्ञान संकाय छट्टै सञ्चालनमा आउने बताएका छन ।
सुर्खेतको चौकुने गाउँपालिका ८ मा ‘चौकुने समृद्धिको आधार प्राविधिक शिक्षाको पूर्वाधार’ भन्ने मुल नाराका साथ कात्तिक २२ देखि २९ सम्म सञ्चालन भएको महांयज्ञको बारेमा शुक्रबार गरिएको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा उपस्थित भएका दानदाता तथा स्थानीयहरुले गरेको प्रश्नको बारेमा सवाल जवाफ दिदै अध्यक्ष बडुवालले यस्तो बताएका हुन ।
बडुवालले महायज्ञमा दान गरेका २ हजार ८७ जना दानदातहरुलाई महान कार्यका लागि धन्यवाद दिंदैे क्याम्पसको जग्गा र अन्य संरचनाका लागि तत्काल पक्रियागत ढंगबाट काम भइरहेको जानकारी दिए । कृषि विज्ञान क्याम्पसका लागि स्थानीय, प्रदेश तथा संघ सरकार संग समन्वय गरी अगामी सैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी तयारी भएको उनको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले चौकुनेमा कृषि क्याम्पस र वनविज्ञान क्याम्पस स्थापना गरिने बताए । ‘चौकुनेमा हामी दुईवटा क्याम्पस स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं, त्यसका लागि गाउँपालिकाले पनि विशेष पहल गरेको छ ।’ उनले भने, ‘कृषि क्याम्पसका लागि गुटुमा महांयज्ञ र गाउँपालिका बाट उठेको रकम जग्गा खरीद र अन्य संरचनामा लगानी गरिनेछ र वनविज्ञानका लागि गाउँपालिकाको गाउँसभाबाटै निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढेको छ ।’
गाउँपलिकाले दुई वटै क्याम्पसलाई प्राथमिकताका साथ अगाडि बढाउने र त्यसमा विभिन्न अराजक तत्वहरुले विभिन्न तरिकाले फैलाइएको भ्रममा नपर्न समेत उनले अनुरोध गरे ।
महांयज्ञको आयव्यय प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष कमल जिसीले प्रस्तुत १ करोड ५५ लाख ९० हजार ९ सय ४४ आम्दानी मध्य २१ लाख ४६ हजार एक सय ९७ रुपैयाँ खर्च भएको जानकारी दिए ।
जम्मा दान मध्ये नगद २९ लाख ३७ हजार ६ सय ८४, चेकबाट ९१ लाख ९९ हजार ७ सय र ३४ लाख ५४ हजार २ सय ३५ उठ्न बाँकी रहेको उनले बताए । उठ्न बाँकी रकम यहि माघ भित्र बैंकमा जम्मा भइसक्ने कोषाध्यक्ष जिसीको भनाई छ ।
महांयज्ञ मुल आयोजक समितिका संयोजक एवंम् वडा नम्वर ७ का अध्यक्ष अमर बहादुर बुढा क्षेत्रीका अनुसार ५८ रोपनी जग्गा किन्ने तयारी भइरहेको छ भने ४० बिगाह जग्गा धामीडाँडा सामुदायिक वनले दान गरेको छ ।
कार्यक्रममा दानदाता, स्थानीय नागरिक राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया